काठमाण्डौ । विश्वमा यस्ता घटना धेरै छन्, जस्तो कसैको विजिनेश आइडिया धेरैका लागि मजाकको बिषय बन्छ, तर पछि त्यही विजिनेश आइडिया सफलतामा परिणत भइदिन्छ । आज तपाईलाई हामी जे कुरा भनिरहेका छौ, त्यो पनि पहिला मजाककै बिषय थियो । तर यो आइडियामा काम गर्ने व्यक्तिले यही मजाकलाई आफ्नो सफलताको आधार बनाइदियो । यो विजिनेश आइडियालाई टाइम म्यागेजिनले टप टेन क्रेजी(पागल) विजिनेश आइडियाको सूचिमा सामेल गरेको छ । यो अवधारणा यति धेरै सफल भयो कि, ६ महिनामै आइडिया निकाल्ने व्यक्ति करोडपति भयो । 

आखिर के थियो त्यो पागल विजिनेश ?


त्यो पागल विजिनेश आइडिया थियो साना ढुंगामा बनाइने घरपालुुवा जनावरको आकृति(पेट रक)को । यो विजिनेशको आइडिया सन् १९७५ मा एक एड्भरटाइजिंग एग्जीक्यूटिव गेरी डेलको दिमागमा आएको थियो । यो आइडियामा सामान्य नदीको किनारमा पाइने ढुंगाका टुक्रालाई घरपालुवा जनावरजस्तो देखाएर बिक्रीका लागि राखिएको थियो । यस्तो ढुंगाको एउटा प्याकेट बनाइन्थ्यो, जहाँ ढुंगाको जनावरलाई कसरी खाना खुवाउने, कहिले कहिले नुहाउने लगायतका टिप्सहरुको लेखिएको विशेष पुस्तिका समेत तयार गरिएको थियो । सुन्दा निकै पागलपनजस्तो लाग्ने ढुंगाका यस्ता आकृति आज पनि अमेरिका र यूरोपको बजारमा खरीद गर्न पाइन्छ । 

सन् १९७५ मा गेरी क्यालिफोर्नियास्थित एक बारमा आफ्नो साथीसँग थिए । उनको साथीले पटक पटक आफ्नो घरपालुवा कुकुरको बिषयमा गुनासो गरिरहेकी थिइन्, उनले भनिरहेकी थिइन–‘घरको कुुकुुरले साह्रै फोहोर गरिदिन्छ, जति कराउँदा पनि टेर्दैन, एकैठाउँ नबस्दा अरुतिर गएर बिगार गरिदेला भन्ने पीर हुन्छ ।’ साथीको कुरा सुुनिरहेको बेला गेरीले अकस्मात भनिदिए–‘मेरो चाहि पेट(घरपालुुवा जन्तुु) निकै राम्रो छ, किनभने त्यो ढुुंगाको हो, यसले कुनै बदमासी पनि गर्दैन । कहीँ हिड्दा पनि हिँड्दैन राखेकै ठाउँमा बसिरहन्छ ।’ 

यो क्रममा गेरीले यसको बिषयमा धेरै कुरा भन्न भ्याए । सो क्रममा उनले मानिसका लागि यस्ता ढुंगाको घरपालुुवा जनावर निकै उपयोगी हुनसक्छन् । यसले खर्च गराउँदैन र आवश्यक हुँदा सुरक्षाको विकल्प पनि हुुन्छन् । गेरीले मजाकमा आफ्नो साथीसँग यी कुरा भनेका थिए, तर त्यसको भोलिपल्टदेखि नै उनले यसलाई विजिनेशको कोणबाट सोच्न थाले । 

यो अवधारणा अनुसार उत्पादित रक पेटलाई बजारमा उतारियो । निकै कम समयमा यसले धुम मच्चायो । यसको विजिनेश ६ महिनासम्म चल्यो, यो क्रममा गेरी करोडपति भइसकेका थिए । गेरीले यो प्रोडक्टलाई सन् १९७५ को क्रिस्टमस पहिला बजारमा उतारेका थिए । ६ महिनाको अवधिमा गेरीले ४ डलर प्रति ढुुंगाको हिसाबले १५ लाख प्रति ढुंगाका घरपालुुवा जनावर बेच्ने सफलता प्राप्त गरे । त्यही बेला उनले ६० लाख डलर कमाए । महंगीको हिसाबले त्यो कमाई आजको दिनमा करिब २.६१ करोड डलर हो । 

सन् २०१२ मा यो प्रोडक्ट फेरि बजारमा ल्याइयो । हाल यस्ता ढुंगा बजारमा २० डलरको दरले पाउन सकिन्छ । 

टाइम म्यागेजिनमा ठाउँ


पेट रकको यो पागलपनले भरिपूर्ण आइडिया टाइम म्यागेजिनको टप १० क्रेडी आइडियामा सामेल भयो । टाइममा छापिएका आर्टिकलका अनुसार पेट रोकका सफलताको पछाडि १ प्रतिशत प्रोडक्टको हात थियो भने बाँकी ९९ प्रतिशत मार्केटिङ कलाको कमाल थियो । यो प्रोडक्टलाई मान्छेहरुले खेलौनाको रुपमा खरीद गरे । 

विजिनेशको अपत्यारिलो अर्को तथ्य


पेट रकमा मुख्य प्रोडक्ट एक ढुंगा थियो, जसलाई पेट(घरपालुवा जनावर) बनाएर बिक्री गर्न खोजिएको थियो । यो प्रोजेक्टमा सबैभन्दा ठूलो लागत त्यो कडा कागजको डिब्बामा लाग्यो, जसमा यो ढुंगालाई प्याक गरिएको थियो । हरेक कागजको डिब्बामा केही प्वाल देखाइएको थियो, यसबाट यो भनियो कि पेट रकले त्यही प्वालबाट सास फेरिरहेको छ । यो आकर्षक प्वाललाई बनाउनका लागि पैसा र समय दुवैको खर्च भयो । 

त्यहाँभित्रको बुकलेट समेत गेरीकै अवधारणा थियो । तर सेल्स बढेसँगै छपाईको खर्च समेत घट्यो । ढुंगा र त्योसँग जोडिएको सामानको मूल्य निकै कम थियो । ४ डलरमा प्रत्येक प्याकेटको लागत १ डलर मात्र रह्यो । अर्थात, यो प्रोडक्टमा सोझै ७५ प्रतिशत नाफा थियो । 

तर, एक पागल अवधारणाका कारण गेरीको कमाई बढेपछि कतिपय मानिसले उनलाई कानूनी कारबाहीको धम्की दिए । यहीकारण उनले यो कारोबारलाई बढाउने बिषयमा जोड दिएनन् । ६ महिनासम्म आर्जन गरेको रकमले आफ्नै एक रेष्टुुरेन्ट खोले र विज्ञापनको कारोबारमा जोडिए । सन् २०१५ मा गेरीको मृत्यु भइसकेको छ । हाल रक पेटको ट्रेडमार्क चाहि रोजबड इन्टरटेनमेन्टसँग छ ।