काठमाण्डौ । मनसुनको समयमा राजधानी जलमग्न छ । विराटनगर, नेपालगञ्ज, वीरगञ्ज जस्ता ठूला शहरको अवस्था पनि उस्तै छ । यस्तो अवस्थामा ठूला शहरमा पानीले भरिएको सडकमा कार चलाउनु निकै जोखिमपूर्ण हुन्छ । यदि तपाईले कुनै ठूलो एसयूवी चलाइरहनुुभएको छ भने त कारको इञ्जिनमा पानी पस्ने खतरा नहोला । तर, हेचब्याक वा सेडान चलाइरहनुुभएको छ भने चाहि पानीका कारण चलाउँदा चलाउँदै कार बन्द हुनसक्छ । पानीका कारण कार बन्द भयो भने तपाईले निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा यदि केही कुराहरुमा ध्यान दिनुुभयो भने तपाईले नोक्सानी व्यहोर्नुपर्दैन । 

धेरै तीव्र नकुदाउने
कार तीव्र गतिमा कुदाउँदा मज्जा त आउला, तर पानीले भरिएको सडकमा भने यसरी चलाउँदा नोक्सानी व्यहोर्नुपर्छ । कार तीव्र गतिमा चलाउँदा पानी सडकको किनारामा ठोक्किएर फेरि सडकमै आउँछ र यसले पानीको लेभल बढाइदिन्छ । यसपछि त्यो पानी तपाईको कारको इञ्जिनमा पस्छ र कारमा हाइड्रो लक भइदिन्छ । 

सडकको बीचबाट अघि बढ्ने
यदि तपाई पानीले भरिएको सडकमा कार चलाइरहनुुभएको छ भने सबैभन्दा राम्रो बीच भागबाट अगाडि बढ्नुुहोला । सडकको बाया अझ गहिरो पानी हुनसक्छ, पानी सडक किनारामा ठोक्किएर तपाईको कारको इञ्जिनमा पर्ने संभावना पनि उत्तिकै हुन्छ । त्यसकारण एउटै गतिमा सम्हालिएर बीच बाटोबाट कार कुदाउने गर्नुपर्छ ।

माथिको गियरमा कार नचलाउने
माथिको गियरमा ढिलो गतिमा कार चलाउँदा एक्जस्टमार्फत कारको इञ्जिनमा पानी पस्ने खतरा हुन्छ । यसकारण तल्लो गियरमा गाडी चलाउनुु यस्तो बाटोमा उत्तम हुन्छ । पहिलो वा दोश्रो गियरमा कर चलाउनु बढी उत्तम हुन्छ । धेरै आरपिएममा कार चलाउँदा एक्जस्ट ग्यास धेरै फोर्सले बाहिर निस्किन्छ र यसले पानीलाई एक्जस्ट पाइपबाट सधैं नै टाढा राखिदिन्छ । 

ठूला सवारीको पछि नकुदाउने
सडक पानीले भरिएको छ भने तपाई सधैं बस वा ट्रकको बीचबाट कार कुदाउने गल्ती नगर्नुहोला । हेभी भेइकलले भारी मात्रामा पानीको लेभल बढाइदिन्छ । यस्तै, यस्ता साधनको पछाडि लाग्दा कारमा पानी जाने खतरा पनि उत्तिकै हुन्छ । 

अर्को रुट खोज्ने
मनसुनको समयमा तपाईका लागि थोरै पानी रहेको सडक छान्नु नै सर्वोत्तम हुन्छ । कम पानी भएको सडकमा जाम नै भए पनि आफ्नो कारको सुरक्षाका लागि यही सडक रोज्नुु भए राम्रो हुन्छ ।