काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा देखिएका ठूला समस्या लगभग समाधान भइसकेको छ । दैनिकजसोका सानातिना समस्यालाई तत्कालै समाधान गरेर नेप्से अगाडि बढिरहेको छ । पहिलाजस्तो अनलाइन कारोबार प्रणालीमा संवेदनशील समस्या देखिएको छैन । लगानीकर्ताले आफैं चलाउन पाउन् भन्ने उद्देश्यले नेप्सेले इच्छुकलाई तालिम समेत दिइरहेको छ । पूर्ण रुपमा अनलाइन लगानीकर्ताको हातमा पुग्ने मिति समेत घोषणा गरेरै अगाडि बढिरहेको बेला समेत बजार अप्रत्यासित रुपमा किन घटिरहेको होला ?

अनलाइन आएपछि बजार बढ्ला र नयाँ युग आउला भन्ने प्रतिक्षामा रहेका सोझा लगानीकर्ता अन्यौलग्रस्त अवस्थामा छन् । ब्रोकरमार्फत नै भए पनि अनलाइनले काम गरिरहेकै छ, लगानीकर्तासँग पैसाको अभाव छैन, जुन प्राथमिक बजारमा सेयर खरीदका लागि परेका अचाक्ली आवेदनहरुले समेत प्रमाणित गरिसकेको छ। भनिएजस्तो वा सुनिएजस्ता धेरै अप्ठ्यारो परिस्थिति नभएको अवस्थामा समेत दोश्रो बजार किन घटिरहेको होला ? बजारको अवस्थालाई निक दिनप्रतिदिन अन्यौलग्रस्त बनाइएको होला ? धेरै लगानीकर्ताको मनमा यस्ता प्रश्नहरु उठिरहेका छन् । आखिर समस्या कहाँनिर छ, भित्रभित्रै केही पाकिरहेको त छैन?

अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार अनलाइन प्रणाली आएर समेत बजार बढ््न नसक्नुको चुरो कारण सेयर लगानीकर्तालाई पान नम्बर अनिवार्य गर्ने व्यवस्थाको बिषयमा भित्रभित्रै भइरहेको बार्गेनिङ हो । 

नेप्सेका उच्च अधिकारीहरु पान नम्बरलाई अनिवार्य गरी पारदर्शी बजारको पक्षमा अर्थमन्त्रालयमा निरन्तर लविङ गर्दै आएका छन् । नेप्सेका अधिकारीहरुको यो पहल देखेर अनलाइन कारोबार प्रणालीमा असहयोग गर्ने मामलामा बजारका ठूला सेयर खेलाडी तथा ठूला व्यापारिक तथा औद्योगिक घरानाका प्रतिनिधि लगानीकर्ता(डमी लगानीकर्ता)ले खेल खेलिरहेका स्रोत दाबी गर्छ । 

‘नेप्सेको प्रस्ताव अनुसार सकेसम्म चाँडो पान नम्बर अनिवार्य गर्ने बिषयमा अर्थका अधिकारी समेत सकारात्मक छन् ।’ अर्थमन्त्रालयस्थित उच्च स्रोतले बिजशालासँग भन्यो–‘तर, यो व्यवस्था अनिवार्य हुँदा धेरैको चलखेल बन्द हुन्छ । यहाँ ठूला व्यापारीदेखि नेतासम्मले प्रोक्सी लगानीकर्तामार्फत बजारमा निकै ठूलो लगानी गरिरहेका छन् । त्यो लगानीको स्रोत देखाउनुपर्छ । यहीकारणले समेत विभिन्न पक्षबाट अनलाइनलाई असहयोग गर्ने र बजारमा अन्यौल सिर्जना गर्ने काम भइरहेको छ ।’ 

अर्थका अधिकारीहरुको दाबी अनुसार बजारमा चलखेल गर्नसक्ने निकै ठूलो गिरोह समेत पान नम्बर अनिवार्य हुने व्यवस्थाको विपक्षमा भित्रभित्रै लविङ गरिरहेको छ । यो बिषय लिएर सरकारसम्म राम्रो पहुँच भएका केही ठूला व्यापारिक घरानाका प्रतिनिधि अर्थमन्त्रीसम्मै समेत पुगिसकेका स्रोत दाबी गर्छ । ‘तर, अर्थमन्त्रीजी पनि पान नम्बर अनिवार्य गरी फेयर मार्केटको पक्षमा हुनुहुन्छ, पान नम्बरको विपक्षमा कुरा गर्ने समूहलाई उहाँले हप्काएर पठाइदिनु भएछ ।’ स्रोत भन्छ–‘त्यस्ता ठूला गिरोहले पछिल्लो समय यो वा त्यो नाममा विभिन्न समूह परिचालन गरी बजारमा अन्यौल सिर्जना गर्न खोजिरहेको छ । यसमा उनीहरुको मुख्य स्वार्थ भनेकै प्रत्येक लगानीकर्तालाई पान नम्बर अनिवार्य गर्ने व्यवस्था कार्यान्वयन नहोस् भन्ने नै हो ।’ 

सेयर कारोबारमा पान नम्बर अनिवार्यको व्यवस्था कडाईका साथ लागू हुने हो भने डमी लगानीकर्ताबाट बजारमा करोडौं लगानी गरेका ठूला व्यक्ति तथा समूहको पोल खुल्नेछ । यो व्यवस्था अनिवार्य गर्ने हो भने बजारमा कालोधन लगानी गर्ने केही ठूला गिरोहहरुको समेत पोल खुल्नेछ । यसकारण समेत उनीहरु यो व्यवस्था विरुद्ध लागिपरेका स्रोतहरु बताउँछन् । 

यसरी बजारमा ठूला गिरोहबाट भएको ठूलो लगानीको स्वार्थका कारण सर्वसाधारण र साना लगानीकर्ताहरु मिचाईमा परेका देखिएको छ । ठूलाको स्वार्थका कारण साना लगानीकर्ताको करोडौं सम्पत्ति स्वाहा भइसकेको छ । तर, दिनहुँजसो लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाइरहँदा समेत आफ्नो स्वार्थ पूरा गर्नका लागि नियोजित ढंगले बजार घटाउन उद्यत गिरोहहरुलाई कारबाही हुन सकेको छैन । 

सर्वसाधारण लगानीकर्तालाई सेयर कारोबारमा अनिवार्य रुपमा पान नम्बर लिनुपर्ने व्यवस्था लागू भए यसबाट केही घाटा हुने वाला छैन । बजारमा सेतो धन लगानी गर्नेहरु समेत यस्तो व्यवस्थाबाट लाभान्वित नै हुनेछन् । तर, कालोधन लगानी गर्नेहरुको चलखेलको युग अन्त हुने भएकोले समेत विभिन्न बाहिरी बाहना देखिाएर भित्रभित्रै बार्गेनिङको खेल भइरहेको स्रोतहरु दाबी गर्छन् ।