काठमाण्डौ । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन्। तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो।

पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो। बिहिबार नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले निकालेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाएको छ। गिरी दुई दिन अघि बेलका ७ बजे नयाँ बजारबाट अपहरणमा परेको र  उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो।

अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए। उनले आफू गोकर्णेश्वरको जंगल नजिकै रहेको र हतियारधारी समूहले आफ्नो अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार गर्‍यो। ‘प्रहरीले भेट्दा जीउभरी हिलो थियो, हातमा पनि सानो चोट थियो’, काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले भने,‘उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे।’ तर प्रहरीले टेकुमा रहेको परिसरमा ल्याएर सोधपुछ गर्दा दृश्य फेरियो।

प्रहरीले पाएको प्रारम्भीक जानकारी र उनले दिएको जानकारी मिलेन। प्रारम्भमा उनले चार जना युवतीले अपहरण गरेको दाबी गरेका थिए। बयानमा उनको दाबी मिलेन। बयानमा उनी जंगलमा लगेर राखेको बताए पनि उनी एक परिचित घरमा बसेको खुल्यो।

घटना नाटकीय देखेपछि प्रहरीले केरकार बढायो अनि बल्ल खुल्यो- उनको अपहरण भएक होइन उनी आफैंले अपहरणको नाटक गरेका  थिए। प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको थियो। तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेद्वार बनेपछि पार्टीले अन्य उम्मेद्वारलाई सहयोग गर्नुपर्ने भन्दै ७ लाख रूपैयाँ मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन्। आजको नागरिकमा खबर छ ।