काठमाण्डौ । सोच्नुहोस् त यात्रा कति आनन्ददायक र सुविधाजनक हुन्छ होला, यदि तपाईले एयरपोर्टमा प्रवेश गर्न र कुनै प्लेनमा बस्न पासपोर्ट र बोर्डिङ पास देखाउन नपरोस्, त्यसको ठाउँमा तपाईका औंला र अनुहार स्क्यान गराउन परोस् । हो, तपाईले कल्पना गर्नुभएको यही कामको सुुरुवात भइसकेको छ, अमेरिकाबाट । 

अमेरिकाका दुुई एयरलाइन्सले टिकट तथा बोर्डिङ पासकोको स्थानमा यो आधुनिक प्रविधि अपनाउने कामको परीक्षण सुरु गरिएको घोषणा गरेका छन् । डेल्टा एयरलाइन्सले घोषणा गर्दै भनेको छ कि उसले बायोमेट्रिक आइडेन्टीफिकेशन पायलट प्रोग्राम सुरु गरेको छ, जसबाट यात्रीले प्लेनमा टिकट वा पासपोर्टको ठाउँमा आफ्नो फिंगरप्रिन्ट्स प्रयोग गर्न सक्नेछ । 

यसभन्दा केही घण्टाअघि मात्र जेटब्लूू कम्पनीले समेत यही प्रविधिको परीक्षण थालिएको घोषणा गरेको थियो । उसले बोस्टनको एयरपोर्टमा यो प्रविधिलाई परीक्षण गरिरहेको बताइएको छ । उसले यस्तो कार्यक्रमको परीक्षण प्रयोग गरिरहेको छ, जसमाध्यम यात्रीहरुको अनुहार यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनको पासपोर्ट डेटाबेसमा जाँच(म्याच) गरिनेछ । 

उता, डेल्टाले चाहि ‘क्लियर’ नामको कम्पनीसँग मिलेर वाशिङ्टनको रेगन नेशनल एयरपोर्टमा यो परीक्षणको सुरुवात गरेको थियो । यो कार्यक्रममा सहभागिता जनाउनका लागि यात्रीहरुले डेल्टाको फ्रिक्वेन्ट फ्लायर स्काईमाइल्स कार्यक्रमको सदस्य बन्न आवश्यक हुन्छ । साथै, सो व्यक्ति क्लियरको समेत ग्राहक हुनुपर्नेछ । डेल्टाको यो कार्यक्रमको पहिलो चरणमा यात्रीहरु लाउञ्जमा जानका लागि बोर्डिङ पासको ठाउँमा आफ्नो फिंगरप्रिन्टको प्रयोग गर्नुपर्ने हुन्छ । दोश्रो चरणमा मात्रै उनीहरुले बोर्डिङ पासको ठाउँमा आफ्नो फिंगर प्रिन्ट ढुक्कले प्रयोग गर्न सक्नेछन्।

प्राइभेसी पोलिसीका अनुसार प्रयोगकर्ताको बायोमेट्रिक सूचनाको व्यवस्थापन क्लियर कम्पनीले गर्नुपर्नेछ । यो योजनामा प्रयोगकर्ताका लागि कुनै पनि बेला आफूसँग सम्बन्धित सूचना कम्पनीको सर्भरबाट हटाउन वा आफ्नो अकाउण्ट बन्द गर्ने सुविधा दिइएको छ । एयरलाइनले निकट भविष्यमै अनुहार स्क्यान गरेर यात्रा गराउने प्रविधि समेत लञ्च हुने घोषणा गरेको छ । 

जेटब्लुु एयरलाइनको कार्यक्रमको कुरा गर्ने हो भने यसले यो कार्यक्रम यूएस कस्टम्स एण्ड बोर्ड प्रोटेक्सन(सीबीपी) तथा टेक कम्पनी  एसआइटीएसँग मिलेर गरिरहेको छ । बोस्टनको लोगन इन्टरनेशनल एयरपोर्ट तथा क्वीन बिट्रिक्स इन्टरनेशनल एयरपोर्टमा कम्पनीका ग्राहकहरुलाई २ विकल्प दिइन्छ । या त उनीहरु पहिलाको जस्तै साधारण वोर्डिङको लाइनमा जानसक्छन् वा दोश्रो लाइनमा बस्नुुपर्ने हुन्छ, जहाँ तपाईको फोटो खिच्नका लागि क्यामेरा लगाइएको हुन्छ । एसआइटीको सिस्टमले यात्रुुहरुको फोटो सीबीपीलाई पठाउनेछ र त्यहाँ उसले आफ्नो डेटाबेससँग म्याच गर्नेछ । कम्पनीका अनुसार म्याचिङको यो काम तत्कालै हुनेछ । 

जेटब्लूूले स्पष्ट पारेको छ कि यात्रीहरुसँग सम्बन्धित जानकारी उनीहरुसँग हुँदैन । टेक कम्पनी एसआइटीसँग पनि हुँदैन । यस्तै, यदि कुनै पनि यात्रीको अनुहार स्क्यान गर्दा डेटासँग म्याच भएन भने उसलाई परम्परागत लाइनमै पठाइनेछ । तसर्थ, तत्काल भने यात्रीहरुले पहिलाको जस्तै आइडी लगायतका कागजात बोक्नुुपर्ने हुन्छ । 

यो प्रविधिले सुविधा त दिने नै छ, तर कतिपय सुरक्षा विज्ञहरुले यो सिस्टममा साइनअप गर्नुभन्दाअघि कसैको पनि निजी सूचना दुरुपयोग नहुने ग्यारेण्टी गरिनुपर्ने सुुझाव दिइरहेका छन् । विज्ञले कुनै पनि कम्पनीले यात्रीहरुको सूचनालाई सरकारले कसरी प्रयोग गर्छ भन्ने बिषय नखुलाएकामा आपत्ति जनाएका छन् ।