रश्मी पन्त बैंकरको रुपमा कार्यरत भएको ५ वर्ष बढी भयो । उनले जीवनमा योजनामा नराखे पनि बैंकको जागिरले उनलाई पछ्यायो । प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको रुपमा उनको बढुवा भएको एक महिना हुँदैछ ।

उनको जीवनमा सरप्राइज चलिरहन्छ । उनलाई प्रभु बैंकमा आफूले अप्लाइ गरेकोभन्दा माथिल्लो पदका लागि बैंककै तर्फबाट अफर आयो । अझ इन्टरभ्यू दिएको २ दिनमा नै उनलाई बोलाइयो । 

‘मलाई सरप्राइज कस्तो भयो भने, म बैंकमा काम गर्छु भन्ने योजना नै थिएन ।’ उनी भन्छिन्, ‘मैले त स्नातकोत्तरको पढाइको सिलसिलामा इसिमोडमा इन्टर्न गरेको थिएँ । म चाहिँ आइटी, संघसंस्था र डिप्लोम्याट क्षेत्रमा लागेर अघि बढ्न चाहन्थेँ । मेरो पहिलो प्राथमिकता बैंक थिएन । मेरो माइण्डसेट कस्तो थियो भने म बैंकमा काम गर्न रुचि राख्दिनँ भन्ने लाग्थ्यो ।’

पिएचडीका लागि ६ महिना समय ब्रेक हुने भयो । ब्रेक अवधिमा ‘जब गरौं न त’ भन्ने थियो ।

त्यो समयको सदुपयोग गरुँ भनेर उनले जब अप्लाइ गरिन् । पछि त सिनियर पोजिसन पो भयो । उनी भन्छिन्, ‘सक्दिनँ भन्ने त थिएन नै । तर, रमाइलो नै भयो ।’ अनि जबकै रमाइलोले उनलाई यतैतिर तानिरह्यो । 

जागिर खाने सिलसिलामा उनले पिएचडीको पढाइ पनि छाडिन् । 

अहिले पिएचडी गर्दैछिन् नेपालमै । राजनीति शास्त्रमा । पहिले चाहिँ विदेश पढ्न जाने सोंच थियो ।

सुरुवाती दिन सम्झिँदै रश्मी भन्छिन्, ‘१०–५ को जब गर्न सक्छस् ? भन्ने साथीहरुको प्रश्न आउँथ्यो । सुरुसुरुमा छिट्टै निस्किन पाए नि हुन्थ्यो भन्ने लाग्थ्यो पनि ।’ उनी थप्छिन्, ‘विस्तारै मेरो काम छ भन्ने लाग्दालाग्दै, यो कामलाई कसरी नयाँ किसिमले र राम्रोसँग गर्ने होला भन्ने सोंचमा लाग्दालाग्दै बानी बस्यो । हरेक दिन केही न केही नयाँ काम आइरहन्छ । नयाँ सोंचले काम गर्नुपर्ने हुँदा नयाँपन अनुभूति भइहाल्छ ।’

काम व्यक्तिको सोंच, सपना र स्वभावका लागि म्याच हुनुपर्छ भन्ने रश्मीलाई अहिलेको जिम्मेवारी आफूलाई म्याच हुने लागेको छ ।

बिहान साढे ९ बजेदेखि रातको ८–९ बजेसम्म नियमित काममै व्यस्त हुन्छिन् उनी । आफ्नो काम ठीकै गरिरहेको छु । यसलाई राम्रो गर्नुपर्छ अझै भन्ने चिन्तनले उनलाई यसमा फ्रेस राखेको छ ।

यही सर्कल, यही रमाइलो, यही साथी भएको छ । समय कटाउने भन्ने नै हुँदैन अहिले त उनलाई ।

रश्मीले जीवनमा काम खोज्न केही संघर्ष गर्नुपरेन । 

२६ वर्षे युवा उमेरमा सिनयर पोजिसनमा रहेर काम गर्दा केही समय आन्तरिक वातावरणले गर्दा जब छोडुँ कि जस्तो पनि नआएको चाहिँ होइन उनलाई । तर निरन्तर गर्नुपर्छ यस्तो भइरहन्छ भनेर काम गर्दै उनी अघि बढिन् ।

उनलाई लाग्छ, उनी हार्डसीपको फिल गर्दिनन् । सहकर्मीलाई कन्भिन्स गर्नेदेखि कामहरुको व्यवस्थापनमा उनी सहज रुपमा गर्न सक्छिन् ।

छोरी भएका कारण पेशागत रुपमा कुनै पनि अप्ठेरो परेको छैन उनलाई आजसम्म । ‘प्रभु बैंकमा प्रदान हुने प्ल्याटफर्म राम्रो छ र पनि सहज छ जस्तो लाग्छ’ उनी भन्छिन्, ‘अवसरका लागि पनि यहाँ मैले राम्रो अनुभूति गरेको छु ।’

आफू पुलपुलिएर हुर्र्किएको छोरी हुँ भन्ने लाग्छ उनलाई । उनले आफ्नो बुबासँग धेरै ठाउँमा धेरै स्कुलमा गएर पढ्ने अवसर पाइन् । उनी भन्छिन्, ‘कल्चरल लेवलको सिकाइ चाहिँ त्यसले एकदम बलियो बनायो ।’ सहज रुपमा लिएकी छिन् यो कुरालाई उनले, ‘जता–जता बुबा त्यता त्यता म भएको थिएँ ।’ बुबा सरकारी सेवामा भएका कारण त्यस्तो भएको थियो ।

महेन्द्रनगरमा जन्मिएकी रश्मीलाई स्कुल र साथी छुटेको कुराले त्यतिबेला चाहिँ नरमाइलो पनि लाग्थ्यो  तर आज सम्झिँदा चाहिँ त्यसले उनलाई मानिसहरुको जीवनशैली, सामाजिक रहनसहनदेखि मानिस कहाँका कस्तो स्वभावका हुन्छन् पनि जान्न पाएको जस्तो लाग्छ । आज त्यो कुरा उपयोग गर्न पाएकोमा उनी दङ्ग छिन् ।

आइएस्सी सकेर स्नातक पढ्न काठमाडौं आइन् ।

स्कुलमा ब्राइट विद्यार्थीको रुपमा नै चिनिएकी रश्मीको रुचि विभिन्न खेल खेल्न र लेख्न थियो । अहिले पनि लेखहरु लेख्छिन्, अंग्रेजी भाषामा  ।

उपन्यास, दर्शन र समसामयिक विषयवस्तुका किताब पढ्ने उनको बानी छ । दिनहुँ केही न केही हरेक बिहान पढ्ने बानी छ । शनिबार चाहिँ अलिक बढी समय दिएर पढ्ने गर्छिन् ।

एउटा बैंकर भएर कुनै किताब पढ्नुभन्दा आफूलाई जीवनमा प्रयोग गर्ने किसिमले पढ्नुपर्छ भन्ने उनको धारणा छ । 

शैक्षिक पृष्ठभूमिले क्षमता विकासमा भूमिका खेल्छ । आफू आवद्ध भएको क्षेत्रको बारेमा राष्ट्रिय विषयवस्तुहरुको जानकारी राख्नुपर्छ भन्ने उनको भनाइ छ ।

किताबको किरो बनेर मात्र हुँदैन । 

एउटा निश्चित स्तरको प्राक्टिकल सिकाइ प्रमुख हो । हरेक पढाइलाई आफ्नो पेशा, जीवन, लक्ष्यसँग जोडेर कहाँ उपयोग गर्ने भन्ने कुरामा जोड गर्नुपर्छ भन्ने उनको प्रष्ट विचार छ ।

प्रविधिका कुरामा धेरै रुचि थियो उनको । आज पनि छ ।

आइटी क्षेत्रमा लाग्छु भन्ने सपना भएको उनलाई फेरि लाग्यो आइटी चाहिँ स्नातक तहमा पढ्ने हो । 

स्कुल पढ्दा पनि प्रोग्रामिङमा एकदम रुचि लाग्थ्यो उनलाई । अहिले पनि त्यो विषयमा क्युरियस छिन् उनी ।

प्रोग्रामिङमा जानुपर्छ कि जस्तो लाग्ने रहेछ अझै पनि । 

संयोगले बिबिए पढाइमा होमिएकी उनलाई थाहै थिएन कि आज बैंकर बन्ने लाइनमा लाग्छु भन्ने । त्यतिखेर त मेडिकल क्षेत्रमा पढ्न आएको दवाब हटाउनु मात्र थियो ।

‘इन्ट्रान्स दिएर नाम निकालेँ, नाम दर्ता पनि गराएँ अनि भर्ना गरेपछि घरमा खबर गरेँ ।’ उनी त्यो संयोग सुनाउँछिन्, ‘रुचि नभएको क्षेत्रमा जानबाट आफूलाई रोक्दा यता आइपुगेँ ।’

रश्मीको बैंक अनुभव सानैदेखिको हो । 

जीवनमा पहिलोपल्ट खाता खोलेको अनुभव स्कुल पढ्दाताका हो । बुबाले ‘ल तिमीहरुको खाता खोल्ने’ भनेर सबैजनालाई बैंक लगेको सम्झिन्छिन्, खाता खोल्दाको क्षणमा सिग्नेचर गरेको कुरामात्र याद छ उनलाई । अरु केही गरेजस्तो लाग्दैन । यो खाता कृषि विकास बैंकमा थियो । अहिले त्यो समयलाई सम्झेर उक्त खाताको अवस्था के होला भनेर जान्ने उत्सुकता पलाएको बताउने उनी भन्छिन्, ‘जीवनकै पहिलो खाता हो, बन्द चाहिँ गर्दिनँ ।’
‘पैसा चाहिँ आफैं–आफैंले जम्मा गरेर लगेका थियौं । बैंकले के दिन्छ के हुन्छ केही पनि थाहा थिएन तर बैंकमा खाता खोलेर आएको कुराले मनै रमाइलो भएको थियो ।’  साथीभाइलाई सुनाएको कुरा सम्झिँदै भन्छिन्, ‘पछि पैसा थप्न जाने हुटहुटीले केही पैसा थपेका पनि थियौं । साथीहरुमध्ये बैंक खाता खोल्ने म नै पहिलो थिएँ ।’

जीवनमा कहिले पनि दुःख र कष्ट भोग्नु नपरेको रश्मीलाई एसएलसीमा बोर्ड टप गर्नु थियो । तर त्यो सोंच सफल नहुँदा उनी एकदम डिस्टब्र्ड भएकी थिइन् ।

म हल्का रिजब्र्ड छु भन्दै उनी भन्छिन्, ‘यात्रामा कतै हिँडेँ भने र घर फर्किन मन लागेन भने पनि ढुक्कले बसिदिने स्वभाव छ मेरो ।’

पारिवारिक सहयोग, साथ र शिक्षादिक्षा राम्रो भएका कारण सफलता हात लाग्ने कुरामा दुइमत छैन भन्ने कुराको उदाहरण नै हुन् रश्मी ।

९ बजे घर पुग्दा पनि किन ढिला आज ? भनेर सोध्ने खालको अप्ठेरो पनि छैन उनको जीवनमा । आफ्नो आत्मविश्वासलाई पनि उनी ठूलो मूल्य दिन्छिन् ।
रश्मी एकदम खर्चालु स्वभावकी भए पनि उनको बचत र लगानी पनि पहिलेदेखि नै हुन्थ्यो । उनले बीबीए छात्रवृत्तिमा पढ्न पाइन् । तर, त्यसबापत लाग्ने जुन खर्च थियो त्यो रकम चाहिँ बुबाले बचत गरिदिनुभएको थियो । उनले आफ्नो बचत रकम सुन खरिद गर्नमा लगानी गरेकी थिइन् । यो चाहिँ उनले आफ्नी आमाबाट सिकेकी हुन् ।

मूूल्य घटेको समयमा लगानी गर्ने र मूल्य बढेपछि बिक्री गर्ने आमाको कामबाट पनि उनले सिकेकी थिइन् । अनि उनले सुरुमा त्यसरी लगानी गर्थिन् ।
अन्य लगानीमा उनको ध्यान छैन ।

जीवनमा ऋण कहिल्यै लिनुनपरेको रश्मीको जीवनमा पैसा दाहिने नै भएको छ । उनको पहिलो कमाइ सम्झिँदा पनि त्यस्तै लाग्छ ।

स्कुल पढ्दाताका नै हो, उनले २० जनाजति केटाकेटीलाई ट्युसन पढाउनुपर्ने भयो । उनले त्यो कुरा स्वीकारिन् । त्यो बेलामा उनी कक्षा ९–१० तिर पढ्थिन् । २० जनालाई सबै विषयका लागि सहयोग हुने गरी पढाउनुपथ्र्यो । दिनको केही घण्टा । मासिक रुपमा १ हजारका दरले २० हजार कमाएको उनको जीवनको स्मरणीय पहिलो कमाइ हो।

उनलाई रमाइलो लाग्थ्यो त्यो बेलामा पढाउन ।

बैंक क्षेत्रको यात्रा धेरै अगाडिसम्म जान्छ अब उनको । नेपालमा सीइओ बनेर यात्रा अगाडि लैजाने सोंच छ, सपना छ । किताब लेख्ने सुर पनि छ उनको ।

उनको विचारमा पैसा भनेको आवश्यकता हो, हुनेलाई झन् धेरै चाहिने भएको पाउँछु । उनले जीवनमा पैसा नभएर केही कुरामा बञ्चित हुनुपरेको छैन ।

पैसा बचत भन्दा पनि लगानी गर्नुपर्छ आफ्नो गाँस कटाएर भए पनि । एक रुपैयाँ बाँकी भए पनि । पैसा सबै कुरा होइन । सन्तुष्टि र खुसी प्रमुख कुरा हन् । यस्तो विचार बोकेकी छिन् रश्मीले ।

बैंकिङ क्षेत्रमा आउन चाहनेले जहिले पनि प्राक्टिकल सिकाइमा जोड गर्नुपर्छ । सबैको आआफ्नो क्षमता हुन्छ, धैर्य चाहिन्छ । अस्वस्थ र अस्वभाविक प्रतिस्पर्धाको भावना राखेर आफू अगाडि पुगिन्न । ४ मा ४ ल्याउने पढाइले भन्दा प्राक्टिकल सीप र ज्ञानले योग्य बनाउँछ ।

उनी जोड गर्छिन्, ‘के कुराले रोकिराखेको छ महिलाहरुलाई माथि पुग्न भन्ने कुराको खोजी गरौं ।’