काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुँजीबजार सुधार र विस्तारका लागि तयार भई अड्केका सबै काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबार पदभार ग्रहणपछि बोर्डका कर्मचारीहरुलाई निर्देशन दिँदै त्यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूले विशेषगरी पुँजीबजारको स्थायित्वलाई प्राथमिकतामा राख्ने र त्यसको माहोल तयार गर्ने पनि बताए ।

पुँजीबजार पनि लगानीको आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै ढुंगानाले यहाँ लगानी गर्नेहरुले पनि उचित रिर्टन पाउनुपर्ने तर्क गरे । ‘लगानी गर्नेहरुले घाटा चाहँदैनन्, आगामी दिनमा पुँजीबजारमा लगानी गर्नेहरुले समेत उचित रिटर्न पाउने वातावरण तयार गर्नुपर्छ’, ढुंगानाले भने, ‘तर त्यस्तो रिर्टन सुहाउँदो हुनुपर्छ, अस्वभावित रिर्टनको अपेक्षा पुँजीबजारबाट पूरा हुन सक्दैन ।’ 

सेयरबजारमा धेरै उतारचढाव आउनु नराम्रो संकेत रहेको उल्लेख गर्दै ढुंगानाले बारम्बार बजार स्थायीत्वमा जोड दिने बताए । विगतमा धितोपत्र बोर्डको सुपरिवेक्षण र निरीक्षणको कार्यमा कमजोरी रहेको टिप्पणी गर्दै उनले त्यसलाई पनि सुधार गर्नुपर्नेमा जोड दिए । ‘अहिले पनि बजारमा धितोपत्र सुपरिवेक्षकीय भूमिकाका विषयमा प्रश्न उठाउने गरिन्छ’, उनले थपे, ‘मेरो कार्यकालमा त्यस्तो हुने छैन । वास्तविक नियामकको अनुभूति हुने गरी काम गरिनेछ ।’

ढुंगानाले कार्यभार सम्हालेकै दिन पुँजीबजार सुधार र विस्तारका लागि विज्ञसहितको टोलीले दिएको तर अड्किएको ५८ बुँदे सुझावअन्तर्गत बाँकी रहेका कामहरु अगाडि बढाउने विषयमा अर्थ मन्त्रालयमा छलफल गर्नेसमेत जानकारी दिए । ‘५८ बुँदेका विषयमा छलफल गर्न आजै अर्थ मन्त्रालय जाँदैछौँ’, उनले भने, ‘अर्थसचिव शिशिर ढुंगानासहितको छलफलबाट अड्किएका कामहरु अगाडि बढाउने विषयमा निर्णय हुनेछ ।’

अध्यक्ष ढुंगानाले आफ्नो कार्यकालमा धितोपत्र बोर्डका कर्मचारी र पुँजीबजारका लगानीकर्ताको मनोबल उकास्नेसमेत प्रतिबद्धता जनाए । उनले निकै पुरानो संस्था भए पनि धितोपत्र बोर्डको आफ्नै भवन नरहेको दुःख व्यक्त गर्दै आफ्नो पहिलो प्राथमिकता बोर्डको आफ्नै भवन बनाउनेमा रहनेसमेत उल्लेख गरे । 

ढुंगानाले पुँजीबजारको विकास र विस्तारको तुलनामा कमोडिटी मार्केटको क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गर्दै यसलाई समेत आफूले प्राथमिकतामा राख्ने बताए । 

पुँजी बजार र वित्त बजारका स्थायित्व र विस्तारका लागि वित्तीय तथा मौद्रिक उपकरणहरुको अभाव रहेको बताउँदै उनले त्यसको समेत विस्तार गरिने, तीसँग सम्बन्धित संस्थाहरुको समेत विकास गरिने उल्लेख गरे ।