काठमाण्डौ । अमेरिकी फोब्र्स पत्रिकाले सन् २०१८ का लागि विश्वका ७५ शक्तिशाली व्यक्तिको सूचि सार्वजनिक गरेको छ । जसमा विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा पहिलो स्थानमा चीनका राष्ट्रपति शि जिनपिङ परेका छन् । 

यसअघि विश्वकै पहिलो स्थानको शक्तिशाली व्यक्ति बन्न सफल रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने दोश्रो स्थानमा झरेका छन् । उनी विगत ४ वर्षदेखिको सूचिमा पहिलो स्थानमा रहँदै आएका थिए । पुटिनलाई दोश्रो स्थानमा झार्दै चिनियाँ राष्ट्रपति पहिलो स्थानमा उक्लिएको यो नै पहिलो घटना भएको फोब्र्स पत्रिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सूचिको तेश्रो नम्बरमा परेका छन् । शि जिनपिङ सबैभन्दा शक्तिशाली व्यक्तिको पहिलो नम्बरमा उक्लिनु पछाडिको मुख्य कारण गत मार्चमा चीनको संविधानमा भएको संसोधनलाई मानिएको छ । यसपछि नै जिनपिङको प्रभाव बढेको छ भने उनका लागि देशको राष्ट्रपति बन्न निश्चित समयको बाध्यता समेत हटेको छ । अर्थात, उनले चाहे भने उनी आजीवन चीनको राष्ट्रपति बन्नसक्ने वातावरण बनेको छ ।

फोब्र्सका अनुसार चीनको संस्थापक भनिने माओपछि शि जिनपिङ नै त्यस्ता व्यक्तित्व हुन्, जसले विश्वका शक्तिशाली मानिसको सूचिमा यो प्रभाव देखाउने ल्याकत राख्छन् ।

फोब्र्सका अनुसार विश्वभर करिब ७ अर्ब ५० करोड मानिस रहेका छन् । तर, यिनै ७५ व्यक्तिले विश्वको स्वरुप फेर्ने ल्याकत राख्छन् । विश्वका शक्तिशाली मानिस छनौट गर्दा फोब्र्सले प्रत्येक वर्ष प्रति १० करोड व्यक्ति बराबर एकलाई छान्ने गर्दछ । 

फोब्र्सको यो सूचिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत नवौं स्थानमा समेटिन सफल भएका छन् । भारतका सर्वाधिक धनाढ्य मूकेश अम्बानी ३२ औं स्थानमा छन् । यो सूचिमा अर्का एक भारतीय समेत परेका बताइएको छ ।

सूचिको चौथो स्थानमा पर्न जर्मन चान्सलर एञ्जेला मर्केल पर्न सफल भएकी छिन् । अमेजनका फाउण्डर तथा विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस शक्तिशाली व्यक्तिको सूचिको ५ औं स्थानमा उक्लिएका छन् भने बिल गेट्स ७ औं स्थानमा छन् । 

फेसबुकका संस्थापक मार्क जुकरबर्ग यो सूचिको १३ औं, ब्रिटेनका प्रधानमन्त्री थेरेसा मि १४ औं, चीनका प्रधानमन्त्री ली केकियाङ १५ औं स्थान र एप्पलका सीइओ टिम कुक २४ औं स्थानमा परेका छन् । यो सूचिमा अलिबाबाका संस्थापक ज्याक मा २१ औं स्थानमा समेटिएका छन् भने सेयर बादशाह वारेन बफेट यो सूचिको १६ औं स्थानमा परेका छन् । 

शक्तिशाली ७५ व्यक्तिमा अरु को–को परे ? पूरा सूचि हेर्न यो लिंकमा जानुहोस्: