काठमाण्डौ । सरकारले पुनः २ साता लामो लकडाउन लगाउनसक्ने देखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार परामर्शका लागि बोलाएका अधिकांश विज्ञहरुले तत्काल लकडाउन लगाएर भयावह बन्दै गएको अवस्थालाई नियन्त्रणमा लिन सरकारलाई सुझाव दिएका हुन् । 

परामर्शका लागि भन्दै विज्ञसहित प्रम ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समेत बोलाएका थिए । बैठकमा सहभागी भएर फर्किने क्रममा अध्यक्ष ठाकुरले आफू र विज्ञहरुले समेत २ साता लामो लकडाउन पुनः लगाउन सरकारलाई सुझाव दिएको बताएका छन् । 

प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा रहेका संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले आफूहरुको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका समेत दाबी गरे । 

ठाकुरका अनुसार बैठकमा आमन्त्रण गरिएका जनस्वास्थ्यविदहरुले समेत २ साता लामो लकडाउन लगाएर अवस्थालाई नियन्त्रणमा लिनुपर्ने सुझाव दिएका छन् । बालुवाटार पुगेका अर्थविदहरुले भने लकडाउन मात्र समस्या समाधानको उपाय नभएको र यसले अर्थतन्त्रलाई पर्नसक्ने प्रभावको विषयलाई समेत हेरिन आवश्यक रहेको बताए । अर्थविदहरुले अबको लकडाउनलाई मुलुकको अर्थतन्त्रले धान्न सक्छ या सक्दैन भन्ने विषय समेत हेरिन आवश्यक रहेको दाबी गरेका छन् ।

विज्ञहरुसँग परामर्श लिएपछि त्यसका आधारमा ओलीले सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नेछन् । संभवत चाँडै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने र सोही सम्बोधनमार्फत लकडाउनको घोषणा गर्न सक्नेछन् ।