काठमाण्डौ । पुननिर्माण प्राधिकरणलाई अलपत्र पारेर राजनीति गर्ने भन्दै गोविन्द पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको प्राधिकरणको सीइओ पदमा सरकारले पूर्वसचिव युवराज भूसाललाई नियुक्त गरेको छ । 

मन्त्रीपरिषदको सोमबार बिहान बसेको बैठकले भूसाललाई पुननिर्माण प्राधिकरणको सीइओमा नियुक्त गरेको हो । बैठकले गोविन्द पोखरेलले सीइओबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । 

भूसाल अर्थसचिवबाट अवकाशप्राप्त व्यक्ति हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले मानिदिएका भए कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भूसाललाई नेपाल राष्टबैंकको गभर्नर बनाउन चाहेका थिए । भूसाल कांग्रेस नेता पौडेका सम्धि हुन् । 

उता, तत्कालीन सीइओ पोखरेलले भने राजनीति गर्ने भन्दै पदबाट आइतबार राजीनामा दिएका थिए । नेपाली कांग्रेसले उनलाई प्रतिनिधिसभा सदस्यका लागि प्यूठानबाट सिफारिस गरेको छ । उनी यसअघि पनि प्राधिकरणको सीइओ भएका थिए । तर, एमाले नेतृत्वको सरकारले उनलाई बर्खास्त गरी सुशील ज्ञवालीलाई सीइओ बनाएको थियो । प्रचण्ड नेतृत्वको सरकार बनेपछि फेरि पोखरेलको भाग्य चम्किएको थियो र उनले एमालेसँग बदला लिनकै लागि प्राधिकरणको सीइओ बन्न सफल भएका थिए । उनले पुनः सीइओ भएपछि भूकम्पपछिको पुननिर्माणको कामले गति लिने दाबी गरेका थिए । तर, पुननिर्माणका कामलाई अलपत्र पार्दै राजनीतिक करिअर बनाउन उनले राजीनामा दिएका छन् ।