काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि जारी गर्ने भनिएको १ अर्ब ६० करोड बराबरको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड टूको रेटिङ प्रदान गरेको छ ।  

यस्तो रेटिङको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा माथि रहेको छ भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड  ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

पुनर्बिमा कम्पनीले आइपीओ निश्कासनका लागि यसअघि नै आरबीबी मर्चेन्ट बैंकिंग लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धक तोकिसकेको छ।

यो कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत सर्वसाधारणका लागि र बाँकी १ प्रतिशत कर्मचारीका लागि गरी कुल १६ प्रतिशत साधारण सेयर निश्कासन गर्ने तयारी गरिरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी रु.१५ अर्ब, जारी पूँजी रु. १० अर्ब, र चुक्तापूँजी रु. ८ अर्ब ४०  करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.१० अर्ब  हुनेछ । 

सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ साल कात्र्तिक २१ गते  पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७१ साल पौष ४ गते बिमा समितिबाट  पुनर्बीमाको इजाजतपत्र प्राप्त गरेको यस पुनर्बीमा कम्पनीले २०७२ साल श्रावण १ गतेदेखि आफ्नो पुनर्बीमाको कारोवारको शुुभारम्भ गरेको हो । 

थापाथली, काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको यस पुनर्बीमा कम्पनीले स्थापनाको छोटो अवधिमै  स्वदेशका जिवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरुसँग कारोबार गरी आर्थिक वर्ष २०७४/७५को अन्तसम्म कुल रु. ४ अर्ब पुनर्बीमा शुल्क संकलन तथा रु. ९ अर्ब ४० करोड लगानी गर्न सफल भएको छ । 

यो कम्पनीले कति चाँडो आइपीओ निश्कासन गर्छ भन्ने कुरा नेपाल सरकारमा निर्भर रहेको देखिन्छ । कारण, यो कम्पनीमा नेपाल सरकारको सेयर स्वामित्व सबैभन्दा बढी छ । 

हाल कम्पनीमा नेपाल सरकारको ४३.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी विभिन्न कम्पनी तथा संघसंस्थाको लगानी रहेको छ । 

यसरी हेर्दा नेपाल सरकारले पूँजी पुर्याउन कम्पनीलाई जति छिटो कमिटमेन्ट दिन्छ, उति छिटो सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने कामले गति पाउने बताइएको छ ।

आइपीओपछि कम्पनीमा संस्थापकःसर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ८४ः१६ हुनेछ । 

आफ्नो आइपीओप्रति सर्वसाधारणलाई आकर्षित गर्न कम्पनीले पूँजी पुगेपछि १ अर्ब बराबरको बोनस सेयर समेत वितरण गर्ने घोषणा समेत गरिसकेको छ । कम्पनीले बेस रेटमै आइपीओ निश्कासनको तयारी गरिरहेको हो ।