काठमाण्डौ । गर्न चाहनेका लागि नेपालमै जताततै संभावना छ । मेहेनती र परिश्रमी हातहरुले यो कुरा प्रत्येक दिन प्रमाणित गर्दै आएका छन् । देशमै बसेर केही गरिखान चाहनेहरुका लागि प्रेरणाकी स्रोत हुन् अनिता घिमिरे । 

अझ देशमा पति वियोगको पीडा मुटुमा लिएर वियोगको र बिजोगको जिन्दगी बाँचिरहेका महिलाहरुका लागि उनी अझ ठूलो प्रेरणाकी स्रोत हुन्।
घिमिरे हाल नेपालमा संचालित सेक्युरिटी गार्ड उत्पादन र सप्लाई गर्ने कम्पनी संचालकहरुको माझकी एक्ली एकल महिला समेत हुन् । 

उनको संघर्षका दिन जति अप्ठ्यारो थियो, आज सफलताको सिढी चढ्दै गरेको क्षण उत्तिकै प्रेरणादायी समेत छ, उनको कथा संघर्षशील नारीहरुका लागि समेत उत्साहको स्रोत बन्नसक्छ ।

हाल घिमिरेले ‘सत्कार सेक्युरिटीज सर्भिस प्रालि’ नामको कम्पनी चलाइरहेकी छिन् । ललितपुरको कोपुण्डोलमा मुख्य कार्यालय रहेको यो कम्पनीबाट उत्पादित सेक्युरिटी गार्डहरु पूर्वको विराटनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म सप्लाई भएर गएका छन् । ती क्षेत्रका विशेष गरी सरकारी अड्डाहरुमा सत्कार सेक्युरिटीजबाट उत्पादित गार्डहरुले भरपर्दो पहरा दिइरहेका भेटिन्छन् । 

ललितपुर महानगरपालिकामा यो कम्पनीले तयार गरेका सुरक्षागार्ड, फायरमेन र नगर प्रहरीसहित ३८ जना कार्यरत छन् । 

महिलाले नेतृत्व हाँकिरहेको यो कम्पनीले महिलाको आकर्षण कम भएका कारण कुल उत्पादन तथा सप्लाई हुने सुरक्षागार्डमा ५ प्रतिशत मात्र महिलाको संख्या रहने गरेको छ । बाँकी पुरुष रहेका संचालक घिमिरेले बताएकी छिन् । 

घिमिरेले आफ्नो कम्पनीमा सेवानिवृत भएका सुरक्षाकर्मी भन्दा सर्वसाधारण पुरुषहरुलाई नै बढी प्राथमिकता दिने गरेकी छिन् । किन त ? ‘भूपूहरुको त्यसै पनि पेन्सन आइरहेको  हुन्छ ।’ उनले भनिन्–‘सर्वसाधारणतर्फ बेरोजगार पुरुष बढी हुन्छन् । त्यही भएर त्यस्तालाई बढी अवसर दिइने गरिएको छ ।’ 

यो कम्पनीमा तयार भएका सुरक्षागार्ड देशभरका १३ मालपोत कार्यालय, एक महानगरपालिका र अन्य दर्जन बढी निजी कम्पनी वा अफिसहरुमा सप्लाई भएका छन् । 

सत्कार सेक्युरिटीजबाट उत्पादित सुरक्षागार्डबाट पाइने सुरक्षित र भरपर्दो सेवाबाट सेवाग्राही समेत खुशी हुने गरेका अनिता सुनाउँछिन् ।

अनिताले खास यो पेशा आफ्ना दिवंगत पतिको विरासतको रुपमा हाँकिरहेकी छिन् । उनका पति हरिप्रसाद चौलागाईको ०७१ सालमा हृदयघातबाट निधन भएपछि उनले हाँकिरहेको यो कम्पनीको सबै व्यवस्थापन तथा संचालनको जिम्मेवारी अनिताको काँधमा आयो । 

पतिको वियोगको पीडालाई मुटुभित्र दबाउँदै आफ्ना २ छोराछोरीको हेरचाह र शिक्षादिक्षामा समेत ध्यान दिई अनिताले यो कम्पनीलाई अझै राम्रोसँग अगाडि बढाउने योजना बनाइन् । शोकलाई शक्तिमा बदलेर अगाडि बढेकी अनिताले आफूले सोचेजस्तै कम्पनीलाई अगाडि बढाउन सफल भएकोमा खुशी व्यक्त गर्छिन् । 

‘यो कम्पनीबाट हुने कुल कारोबारमा खर्च कटाएर मैले मासिक एकलाख भन्दा बढी नाफा गर्ने गरेकी छु ।’ अनिताले बिजशालासँग भनिन्–‘इच्छाशक्ति र आँट हुने हो भने हामी महिलाहरुले पनि पुरुषले झै काम गर्न सक्छौ ।’ 

अनिताको कम्पनीमा हालसम्म करिब १ करोड रुपैयाँको हाराहारीमा लगानी भइसकेको छ । 

यसअघि राजधानी र आसपासका क्षेत्रमा सेक्युरिटी गार्ड उत्पादन गर्ने कम्पनीहरुको संख्या १३०० भन्दा बढी थियो । तर, ती सबै कानूनी दायरामा आएका थिएनन् । नयाँ सरकारले त्यस्ता कम्पनीलाई समेत कानूनको डण्डा लगाउन थालेपछि श्रम मन्त्रालयमा दर्ता हुनुपर्ने भयो । र, रु. ६५ लाख धरौटि राखेर श्रम मन्त्रालयमा दर्ता भएका २०० हाराहारीका सेक्युरिटी कम्पनीहरुमध्ये अनिताको कम्पनी पनि एउटा  हो । 

अनिताका अनुसार देशभर संचालित सेक्युरिटी कम्पनीमध्ये एकल महिलाले संचालन गरेको कम्पनी उनको मात्रै हो । 

पुरुषहरुको बाहुल्यता रहेको सेक्युरिटी कम्पनीहरुको बीचमा एकल महिला अनिताले चलाएको कम्पनीले राम्रै प्रदर्शन गरिरहेको अन्य कम्पनीका पुरुष संचालक बताउँछन् । 

कम्पनी चलाउने क्रममा एकल महिला भएकै कारण कतिपय पुरुषहरुको हेपाईमा पर्नुपर्ने तीतो अनुभव बटुलेकी घिमिरे आफू सबै खालका पुरुषको दाँजोमा व्यवसाय संचालन गर्न सक्षम रहेको र देशभर पुरुषहरुको नेतृत्वमा संचालित सेक्युरिटी कम्पनीहरुसँग सहकार्य गर्न इच्छुक र तयार रहेको समेत बताउँछिन् । ‘म सबै खालका साथीहरुसँग सहकार्य गरेर अझै अगाडि बढ्न चाहन्छु ।’ सबैलाई आह्वान गर्दै उनले भनिन्–‘भोलिका दिनमा म जस्ता महिलाहरु समेत यो क्षेत्रमा आउन् र सेक्युरिटी कम्पनी पुरुषले मात्र होइन, महिलाहरुले पनि राम्रोसँग चलाउनसक्छन् भन्ने कुरा प्रमाणित गर्न पाइयोस् ।’ 

उनले देशमा बेरोजगारीको पीडा भोगेर बसेका शिक्षित महिलाहरुलाई समेत यो पेशामा संभावना रहेको उल्लेख गर्दै यसतर्फ लागे राम्रै नाफा हुने सुझाव दिन्छिन् । 

भविष्यमा सेक्युरिटी गार्ड बाहेक अन्य कामदार जस्तै: कार्यालय सहायक, म्यासेञ्जर, कूचिकार(सफाई मजदूर), वेटर, माली, कृषि श्रमिक, क्याटरिङ श्रमिक जस्ता कर्मचारी समेत उत्पादन गरी सप्लाई गर्ने योजना रहेको उनले सुनाइन् । 

हाल केही जिल्लामा मात्र सीमित सेवालाई निकट भविष्यमा लगानी र जनशक्ति समेत थपेर ७७ वटै जिल्लामा बिस्तार गर्ने आफ्नो चाहना उनले व्यक्त गरिन् । 

भारतको नागपुरमा  २०४१ साउन १८ गते जन्मिएकी अनिताको स्कूले जीवन संखुवासभाका बितेको थियो । ११ पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिएकी उनी त्यसपछि ललितपुरको भट्टेडाँडामा श्रीमानको घर आइन् । हाल सातदोबाटोमा २ छोराछोरीका साथ बस्दै आएकी घिमिरेको हाल माइती मोरङको लक्ष्मीमार्ग हो । 

बुबा बासुदेव घिमिरे र आमा अनन्तकुमारी घिमिरेकी ४ सन्तानमध्येकी जेठी अनिताको प्रगति देखेर उनका बुबाआमा र माइती तथा घरतर्फका आफन्त र साथीभाई समेत खुशी छन् । उनका बुबाआमा ज्वाईले विरासतको रुपमा छाडेर गएको कम्पनी छोरीले अझ राम्रोसँग हाँकेकोमा मख्ख छन् ।

सेयरमा पनि लगानी
कुराकानीको क्रममा हामीले उनलाई सेयर बजारमा लगानीको विषयमा सोधेका थियौं । उनले प्राथमिक बजारमा मात्र लगानी गर्दै आएको बताइन् । प्राथमिक बजारमा सेयर(आइपीओ)मा लगानी गर्दै आएकी उनीसँग हाल विभिन्न कम्पनीका करिब ५ सय कित्ता सेयर रहेका छन् । हालै युनिभर्सल पावरको आइपीओ भरेकी उनले भनिन्–‘म प्राय आइपीओ भर्न चाहि छुटाउँदिन । दोश्रो बजारको बिषयमा मलाई ज्ञान छैन ।’