काठमाण्डौ । पिपल्स पावर लिमीटेडको प्रवद्र्धनमा निर्माणाधीन ४.९६ मेगावाट क्षमताको पुवा जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता(पिपिए) सोमबार सम्पन्न भएको छ । 

पिपल्स पावरको तर्फबाट प्रबन्ध संचालक भरतबहादुर खत्री र नेपाल विद्युत प्राधिकरणको तर्फबाट निमित्त प्रबन्ध निर्देशक जगदीश्वरमान सिंहले खरीदबिक्री सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौताअन्तर्गत नेपाल विद्युत प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युतलाई नयाँ विद्युत खरीदबिक्री नियमअनुसार हिउँद र वर्षायाममा ६/६ महिनाको दरले खरीद बिक्री दर प्राप्त गरेको छ । प्राधिकरणले कम्पनीसँग वर्षायामको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायामको ६ महिना प्रति युनिट ८.४० रुपैयाँमा खरीद गर्ने सम्झौता गरेको छ । यस आधारमा आयोजनाले अन्य पुराना भन्दा प्रति मेगावाट करिब २० प्रतिशत थप वार्षिक आम्दानी गर्नसक्नेछ । साथै, आयोजना संचालन भएपछि पहिलो आर्थिक वर्षबाट वार्षिक न्यूनतम १२ प्रतिशतका दरले लाभांश उपलब्ध गराउने क्षमता रहने कम्पनीको दाबी छ । 

सोमबार सम्पन्न पिपिएलगत्तै कम्पनीले इलामको माइपोखरी र साखेजुुङ भई बग्ने पुवा खोलाबाट ४.९६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण कार्य तीव्र रुपमा अगाडि बढाउने बताएको छ । सो आयोजना बढीमा २६ महिनाको अवधिभित्र सम्पन्न गरी इलामको गोदक सवस्टेशनमा अवस्थित विद्युत प्रसारण लाइनमा जोडी विद्युत प्रवाह गर्ने लक्ष्य रहेको छ । 

प्रति मेगावाट करिब १८ करोड लागत लाग्ने सो आयोजनाको कुल लागत ९० करोड रुपैयाँ रहेको बताइएको छ । सोमध्ये ३० करोड रुपैयाँ सेयर लगानीमार्फत जुटाइने तथा ६० करोड रुपैयाँ विभिन्न बैंकहरुको सहबित्तीयकरणको आधारमा जुटाइने कम्पनीले जनाएको छ । सो सम्बन्धमा नेपाल बंगलादेश बैंकबाट आशयपत्र प्राप्त भइसकेको बताइएको छ । 

प्रवद्र्धक कम्पनीले एकवर्षभित्र ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरी स्थानीयबासी र सर्वसाधारणका लागि कुल सेयर लगानीको ३० प्रतिशत प्राथमिक सेयर निश्कासन गर्ने लक्ष्य राखेको छ ।