काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८, भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएका छन् । 

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन, युथ कम्युनिटी फर नेप्लिज कन्ट्राक्टर्सको सहयोग रहेको छ । साथै, नेपाल टनेलिङ एशोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुने उनको दाबी छ । 
आगामी पुस २१ गते देखि २३ गतेसम्म सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहनेछन्  । जलविद्युत प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

जलविद्युतलगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमाचासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको  ७ बर्षमा १७ हजार मेगावाट विद्युतउत्पादनगर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेकोछ ।

एक्स्पोमा इञ्जिनियरिङ बेस भएका विद्यार्थिका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिनेछ ।

एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय बर्षमा १ हजार मेगावाट बिद्युत उत्पादन गर्न नसकेको, तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनि प्रबिधिलाई आत्मासाथ गर्दै अगाडि बढ्नुपर्ने बताए । 

स्वतन्त्रउर्जा उत्पादक संघका उपाध्यक्षकुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधीबाट बिद्युत उत्पादन गरे मात्र सस्तो हुने बताए ।