काठमाण्डौ । रादी विद्युत कम्पनीले आगामी पुस पहिलो सातादेखि ७ करोड ६४ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ निश्कासनका लागि गत कात्तिक ७ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो । 

रादी विद्युत कम्पनीका एक अधिकारीका अनुसार आइपीओका लागि आह्वानपत्र एकदुुई दिनमै प्रकाशित गर्ने तयारी भइरहेको छ । ती अधिकारीका अनुसार ढिलोमा पुस पहिलो सातादेखि आइपीओ निश्कासन हुनेछ । 

यो कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओमा देशैभरका आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाहरुको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो कम्पनीको हालको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी बढेर ४१ करोडको उचाईमा पुुग्नेछ । 

यो जलविद्युत कम्पनीले लमजुंग जिल्लामा ४.४० मेगावाट क्षमताको रादी साना जलविद्युत आयोजना संचालन गर्छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड ३ को ग्रेडिंग दिएको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसत रहेको भन्ने हो ।