काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमीटेडले आगामी पुस ३० गतेदेखि आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५ सय कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले पाँचथरको भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालि) का बासिन्दाहरुका लागि आइपीओ निश्कासन गरेको हो । 

इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आइपीओमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ । 

यो कम्पनीलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल १९ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्न धितोपत्र बोर्डले ६ दिनअघि अनुमति दिएको थियो । पहिलो चरणमा आयोजना प्रभावितका लागि आइपीओ निश्कासन गर्न लागेको हो ।

आयोजना प्रभावितपछि सर्वसाधारणका लागि पनि ९ लाख ६२ हजार ५ सय कित्ता नै सेयर निश्कासन गर्नेछ ।

कम्पनीले कुल पूँजीको २० प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

यो कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए प्रोजेक्टबाट बिजुली उत्पादन थालिसकेको छ । हेवा खोलाको आयोजनास्थल पाँचथरमा छ भने यहाँबाट उत्पादित बिजुलीले ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लासम्मका क्षेत्रलाई उज्यालो बनाएको छ। 

हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।

केयर रेटिङ नेपालले यो कम्पनीको आइपीओलाई ’केयर(एनपी आइपीओ ग्रेड(४’ को रेटिंग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

कहाँबाट दिने आवेदन ?
आयोजना प्रभावितका लागि आवेदन दिने विभिन्न केन्द्रहरु तोकिएको छ, जुन यसप्रकार छ:

  • कृषि विकास बैंक लिमीटेड, फिदिम
  • सेञ्चुरी बैंक, फिदिम
  • गुड्विल फाइनान्स, फिदिम
  • पाँचथर पावरको कर्पोरेट अफिस, याङ्नाम(पाँचथर)