काठमाण्डौ । पुस मसान्तमा हुने ब्याज र करको दवाब हटेसँगै लगानीकर्ताको मनोबल बढ्न थालेको देखिएको छ । यहीकारण सोमबार न्यून अंकले बढेको बजार मंगलबार भने दोहोरो अंकले बढेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढिरहेको छ । यसले बजार लयमा कुदिरहेको बुझ्न सकिन्छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको पूँजी तथा मुद्रा बजारका समस्याको बिषयमा अध्ययन गर्न गठित कार्यदलको सुझाव अनुसार बजार सुधारका लागि धेरै काम भएका र यसले बजार बढाउने अर्थविदहरुले दाबी गरिरहेका छन् ।

पूँजीबजार सुधारका लागि सुधारका काम भएलगत्तै बजार बुम भएको थियो । तर, लगत्तै पुस मसान्तको दवाबमा परेपछि केही दिन बजार घटेको थियो।

माघ लागेसँगै बजारले लय पक्रन थालेको हो । 

मंगलबार सेयर बजार परिसूचक १७.५१ अंकले बढेर ११९५.५४ को विन्दूमा पुगेको हो । 

यो दिन सेन्सेटिभ इण्डेक्स ३.०६ अंकले बढ्यो भने फ्लट इण्डेक्समा १.२८ अंकको बढोत्तरी देखियो । 

यो दिन बजारका सबै समूहको सूचक हराभरा भए । जलविद्युत, निर्जीवन बिमा ,जीवन बिमा र माइक्रोफाइनान्स समूह यो दिन चम्किए । 

जलविद्युत समूहको सूचकमा ५२.७७ अंकको उच्च वृद्धि भयो । यो भनेको ४.३५ प्रतिशतको बढोत्तरी हो । 

यस्तै, निर्जीवन बिमा समूहको सूचक २३२.९२ अंक(४.१४ प्रतिशत))ले वृद्धि भयो । 

माइक्रोफाइनान्स समूहको सूचकमा ३.८२ प्रतिशतको बुम देखियो भने जीवन बिमा समूह ३.२३ प्रतिशतले बढ्यो । 

यो दिन बैंकिङ समूह ५.०४ अंकले बढ्यो । व्यापार समूह २.८७ अंक, होटल समूह ६.५ अंक, विकास बैंक समूह १६.७५ अंक, बित्त समूह ०.८९ अंक उत्पादनमूलक २.६५ अंक र अन्य समूह ११.५५ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ८ लाख ३५ हजार २ सय ३९ कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार ५ सय ४० रुपैयाँमा किनबेच भयो । 

यो दिन नागरिक लगानीकोषले सबैभन्दा उच्च कारोबार गर्यो । यो कम्पनीको ८ करोड बढीको सेयर किनबेच भयो । 

नेपाल बैंकले १ करोड ९१ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८३ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ६१ लाख, साना किसान विकास बैंकले १ करोड ५० लाख, नेपाल इन्स्योरेन्सले १ करोड ३२ लाख, छिमेक लघुवित्तले १ करोड २ लाख, प्रभू इन्स्योरेन्सले ८८ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ८४ लाख र प्रभू बैंकले ७५ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा चारवटा कम्पनीका लगानीकर्ताले कुस्त कमाए । 

नागरिक लगानीकोषको सेयर मूल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लाग्यो । 

ग्रामीण विकास लघुवित्त, अपर तामाकोशी र अरुण काबेली पावर लिमीटेडको सेयर मुल्यमा समेत १० प्रतिशतकै हाराहारीमा उछाल आयो ।

बजारमा दोहोरो अंकको वृद्धि हुँदा सिद्धार्थ इक्वीटी फण्डका इकाईधनी अभागी ठहरिए । यो कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ३ प्रतिशतले घट्यो ।