काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत कर लगाउने भनी आन्तरिक राजश्वबाट भएको पत्राचारको बिषयमा एकदुई दिनमै निश्कर्ष सार्वजनिक गरिने वचन दिएका छन् । 

नेपाल पूँजी बजार लगानीकर्ता संघबाट गएको एक प्रतिनिधि मण्डललाई बुधबार भेट गर्दै अर्थमन्त्री डा. खतिवडाले त्यस्तो वचन दिएका हुन् । 

'बजारको समस्याप्रति हामी गम्भीर छौ ।' अर्थमन्त्री डा. खतिवडालाई उद्धृत गर्दै भेटमा सहभागी संघकी अध्यक्ष राधा पोखरेलले बिजशालासँग भनिन्-'स्थगित अवस्थामा रहेको पूँजीगत लाभकर सम्बन्धी सो निर्णयमा मन्त्रालय एकदुई दिनमै निश्कर्षमा पुग्नेछौ ।'

यसअघि राजश्वसचिव शिशिर ढुंगानाले समेत पटक पटक सो बिषयमा चाँडै निश्कर्ष निकाल्ने बताए पनि लामो समयसम्म समेत यो बिषयले निश्कर्ष पाउन सकेका छैनन् । 

संघले अर्थमन्त्री समक्ष ३ बुँदे मागपत्र समेत पेश गरेको छ । संघले गैरआवासीय नेपालीहरुलाई नेपालको सेयर बजारमा लगानी गर्नसक्ने वातावरण बनाउन आग्रह गरेको छ। 

संघले वर्तमान सरकारले सेयर बजारको बिषयमा बेवास्ता गरेको आरोप समेत लगाएको छ । अर्ब बढी कारोबार भइरहेको बजारमा करोड हुँदै कारोबार रकम लाखमा सीमित हुने अवस्था आएको र बजारमा एफपीओ र आइपीओ समेत बिक्री हुन छाडेको भन्दै संघले परिस्थितिको गाम्भीर्यता बुझिदिन अर्थमन्त्रीलाई अनुरोध गरेको थियो । 

बजार निरन्तर घटेका कारण सेयर कारोबारबाट सरकारलाई दैनिक रुपमा प्राप्त हुने राजश्व समेत गुमेको र साना लगानीकर्ताको कन्तबिजोग भएको भन्दै उपयुक्त कदम चालिदिन समेत संघबाट गएको प्रतिनिधि मण्डलले आग्रह गरेको थियो । 

संघले सेयर कारोबारका लागि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने भन्दै पटक पटक नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता झुक्याएको भन्दै समयमै अनलाइन प्रणाली ल्याउने बिषयमा पहल गरिदिन समेत आग्रह गरेको छ । 

संघले मौखिक रुपमा अर्थमन्त्रीसँग अन्य केही मागहरु समेत प्रस्तुत गरेको थियो । उसले एक आर्थिक वर्षभन्दा कम समयका लागि कारोबार गर्ने कारोबारीलाई मात्र ७.५ प्रतिशत लाभकर लगाउने व्यवस्था गर्न र एकवर्ष भन्दा बढी समयका लागि लगानी गर्नेहरुलाई ७ प्रतिशत मात्र त्यस्तो कर लगाउन आग्रह गरिएको छ। 

अर्थमन्त्रालयमा गएको संघको प्रतिनिधि मण्डलमा अध्यक्ष राधा पोखरेल, सेयर विश्लेषक नवराज घिमिरे, संघका महासचिव एसपी चौलागाई, सचिव एनबी थापा, प्रदेश ७ का संयोजक रामकुमार थापाको सहभागिता थियो ।