काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीसँग भएको सहमतिपछि लगानीकर्ताले साउन १ गतेदेखि लागू हुने भनिएको भारित औसत आधारमा हुने पूँजीगत लाभकरको गणना विधि स्थगन गर्न सिडिएससीलाई आग्रह गरेका छन् । 

उनीहरुले पूँजीगत लाभकर गणनाकै लागि ब्रोकर कार्यालयमा गएर ल्याप्चे नलगाउन लगानीकर्तालाई समेत आह्वान गरेका छन् । 

भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससी र ब्रोकरले सूचना जारी गरेसँगै लगानीकर्ता आन्दोलित बनेका छन् । 

धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताका संघसंगठनबीच आइतबार बिहान भएको छलफलबाट आएको निश्कर्ष अनुसार चारवटा लगानीकर्ता संघसंगठनले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई एक पत्र लेख्दै राफसाफ रोकी सहयोग गरिदिन आग्रह गरेका हुन् । 

सिडिएससीले दिएको निर्देशन अनुसारको पूँजीगत लाभकर गणना विधि अव्यवहारिक रहेको ठहर गर्दै समस्या समाधान नभएसम्मका लागि कारोबार राफसाफ गर्न नहुने छलफलमा सहभागी अधिकांशको मत थियो । 

दोस्रो बजारमा सेयर बिक्री गरेपछि भौतिक रुपमा ब्रोकर कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउनुपर्ने निर्णय लगानीकर्ताहरुका लागि अनलाइन र प्रविधिको युगमा एक कालोधब्बा हुने उल्लेख गर्दै यो अव्यवहारिक व्यवस्था लगानीकर्ताका लागि अस्वीकार्य रहेको भन्दै राफसाफ रोकी आफूहरुलाई सहयोग गर्न सिडिएससीलाई आग्रह गरेका छन् । 

लगानीकर्ताका संघसंगठनले नै सबै लगानीकर्ताहरुलाई ब्रोकर कार्यालयमा गएर हस्ताक्षर नगर्न आह्वान समेत गरेका छन् । 

सिडिएससीलाई लेखिएको पत्रको बोधार्थ धितोपत्र बोर्ड, अर्थमन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र स्टक ब्रोकर एशोसिएसनलाई समेत दिइएको छ ।

सिडिएससीलाई लेखिएको पत्रमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् । 

सिडिएससीलाई सामूहिक रुपमा पत्र लेखेपछि अहिले लगानीकर्ताका नेताहरुको समूह यही समस्या समाधानका लागि भन्दै अर्थमन्त्रालय पुगेका छन् । 

यसैबीच, लगानीकर्ताका नेताहरुले सिडिएससीलाई लेखिएको पत्र सामूहिक रुपमा गएर सिडिएससी सीइओलाई हस्तान्तरण समेत गरेका छन् ।