काठमाण्डौ । सरकारको बजेट प्रस्तुतीपछि करेक्सनको मोडमा रहेको पूँजीबजारमा साताको पहिलो कारोबारको दिन आइतबार गतिलै ब्याक गियर लागेको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक एकैदिन ३६.३४ अंकले घटेर १४८१.२९ अंकमा आइपुगेको छ । आइतबार होटल र उत्पादनमूलक समूह बाहेक सबै समूहको परिसूचकमा रातो पोतियो । 

होटल समूह १३६.८२ अंकले उक्लियो भने उत्पादन मूलक ०.०५ अंकले मात्र माथि लाग्यो । 

आइतबार सबैभन्दा धेरै बिमा समूहको सूचक २४०.१८ अंकले तल झर्यो । जलविद्युत समूहको सूचकमा समेत ब्याकगियर लाग्दै १२०.९८ अंकले घट्यो । अरुबेला बजारलाई माथि लैजान महत्वपूर्ण योगदान गर्ने वाणिज्य बैंक र विकास बैंक समूहको सूचकमा पनि अनपेक्षित गिरावट देखियो । वाणिज्य बैंक ३६.३४ अंकले घट्दा विकास बैंक समूह  ४३.२९ अंकले ओरालो लाग्यो । बित्त समूह ८.४२ अंकले ओरालो लाग्दा अन्य समूहको सूचकमा पनि ४.६९ को ब्याकगियर लाग्यो । आइतबार सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले घट्दा फ्लोट इण्डेक्स २.८२ अंकले ओर्लियो ।

 

समग्र सूचक घटे पनि १ सय २८ कम्पनीका २३ लाख ४९ हजार ८ सय ९० कित्ता सेयर १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातादेखि पूँजीबजारमा हरेक दिन कारोबार रकम १ अर्ब माथि हुँदै आएको छ । 

बढी कारोबारको हिसाबले आइतबार उत्कृष्ट १० कम्पनीमा ६ स्थान वाणिज्य बैंकहरुले नै कब्जा गर्न सफल भए । सबैभन्दा सिटिजन्स बैंक इन्टरनेशनलको २० करोड २४ लाख बराबरको सेयर किनबेच भयो भने सानिमा बैंकको १३ करोड ८७ लाख बराबरको कारोबार भयो । यी दुवै बैंकले ठूलो मात्रामा आफ्ना सेयरधनीलाई हकप्रद दिने घोषणा गरेका छन् । नेपाल बैंक लिमीटेडले ६ करोड बराबरको कारोबार गर्यो भने एभरेष्ट बैंक लिमीटेडको पनि ५ करोड बढीको सेयर किनबेच भयो ।