काठमाण्डौ । साताको दुई दिन लगातार ओरालो लागी उराठ बनेको पूँजीबजारको चमक मंगलबार वाणिज्य बैंक, विकास बैंक र बिमा समूहले फर्काएका छन् । 

यी दुई दिन वाणिज्य बैंक र बिमा समूहको सूचक ओरालो लागेको थियो । अन्य बेला यी दुई समूहकै बजारमा दबदबा कायम हुँदा नेप्से इण्डेक्स नयाँ रेकर्ड बनाउँदै बुल हुँदै थियो । एकाएक आइतबार र सोमबार नेप्सेको बुलिस यात्रामा ब्रेक लाग्यो । 

दुई दिन करेक्सनको मोडमा कुदिरहेको पूँजीबजारले मंगलबार फेरि बुलिस ट्रेण्ड समातेको छ । मंगलबार एकैदिन नेप्से परिसूचक १६.१७ अंकले बढी १४८३.६८ अंकमा पुगेको छ । 

उत्पादनमूलक समूह स्थिर रह्यो भने बाँकी सबै समूहको परिसूचकमा हरियो पोतियो । सबैभन्दा बढी बिमा समूहको सूचक ११५.५६ अंकले उक्लियो । वाणिज्य बैंक समूहको सूचक १६.५१ अंकले उकालो लाग्दा विकास बैंक समूह पनि १३.५८ अंकले उक्लियो । जलविद्युत समूह पनि १३.९५ अंकले उकालो लाग्यो । होटल, बित्त र अन्य समूह क्रमशः ७.६५, ४.६७ र ४.७ अंकले उकालो लागे । सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः १.१६ र १.१५ अंकले उक्लिए ।  

मंगलबार बजारमा १ सय ३३ कम्पनीका ११ लाख ६३ हजार ५ सय ९६ कित्ता शेयर ७७ करोड ७४ लाख रुपैयाँमा किनबेच भयो । 

मंगलबार बढी शेयर कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकहरुले कब्जा गरे भने २ बिमा कम्पनी र १ जलविद्युत समूहको बर्चश्व रह्यो । 

सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको शेयर किनबेच भयो । यो कम्पनीले ४ करोड ५ लाख बराबरको शेयर कारोबार गर्यो । यसैगरी, सानिमा बैंकको ३ करोड ३९ लाख, नेपाल बैंक लिमीटेडको ३ करोड ३७ लाख, नेपाल बंगलादेश बैंकको ३ करोड ११ लाख, एभरेष्ट बैंकको २ करोड ७५ लाख रुपैयाँको शेयर खरीदबिक्री भयो ।