काठमाण्डौ । अधिकांश लगानीकर्ता सरकारको नीति तथा कार्यक्रममा समेटिएका बिषय बजेटमा कुन रुपमा समावेश हुन्छन् भनी प्रतिक्षामा बस्दा यसको असर सेयर बजारमा परेको छ । 

सरकारले नीति तथा कार्यक्रममार्फत पूँजीबजारलाई गतिशली बनाइनेछ भन्ने एक वाक्य हालेको छ, जसलाई लगानीकर्ताहरुले आ आफ्नै ढंगले विश्लेषण गरिरहेका छन् । 

नीति तथा कार्यक्रममा विस्तृत कुरा नसमेटिने हुनाले सरकारले यो  पटक पूँजीबजारलाई प्राथमिकताका साथ समेटेको र बजेटमा यसको उत्साहजनक र बिस्तारित स्वरुप देख्न पाउने एकथरिको तर्क छ भने धेरैले चाहि पूँजीबजार गतिशील बनाइनेछ भनेकै भरमा ढुक्क हुने अवस्था नरहेको भन्दै बजेटसम्म पर्ख र हेरको रणनीति बनाएका देखिएको छ ।

बजेट प्रतिक्षाकै कारण पनि लगानीकर्ता उत्साहित भएर बजारमा प्रवेश गर्न सकेका छैनन् । अहिलेको बजार भने सर्टटर्म कारोबारीहरुले थेगिरहेका छन् । ठूला र संस्थागत लगानीकर्ता पनि मौका कुरेर बस्दा बजारमा अपेक्षित सुधार हुन सकेको छैन । 

यहीकारण बजार केही दिनदेखि स्थिर अवस्थामै देखिएको छ । केही विशेष कारणले कारोबारमा सामान्य घटबढ भए पनि समग्रमा बजार स्थिर नै देखिएको हो । यसले समेत लगानीकर्ता बजेटबाट आफ्ना समस्या सम्बोधन हुने र करको बिषयमा व्याप्त अन्यौलको अन्त हुने आशामा छन् ।

के–के भयो बजारमा ?
बुधबार नेप्से परिसूचक ४.५५ अंकले घटी १३२८.२७ को विन्दूमा समेटियो । ‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.०९ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४४ अंकको गिरावट देखियो । 

यो दिन माइक्रोफाइनान्स समूह ५.५७ अंकले तथा अन्य समूह २.३२ अंकले बढे । अन्य सबै समूहको सूचक ओरालो लागे ।

यो दिन बैकिङ समूह ६.१२, होटल समूह ५.०४, विकास बैंक समूह ५.५८, जलविद्युत समूह २.९१, बित्त समूह २.६९, बिमा समूह २६.५७ र उत्पादनमूलक समूह १४.५८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका ४ लाख ७० हजार ६ सय १२ कित्ता सेयर २९ करोड ६३ लाख ७ हजार ९ सय ३७ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले १ करोड ८९ लाख बढीको कारोबार गर्यो । यस्तै, सिटिजन्स बैंकले १ करोड ५१ लाख, स्वरोजगार लघुवित्तले १ करोड ४४ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड २६ लाख, लक्ष्मी बैंकले पनि १ करोड २६ लाख, स्वदेशी लघुवित्तले १ करोड ८ लाख बढीको कारोबार गरे । यसैगरी, नेपाल बैंकले ९८ लाख, फरवार्ड माइक्रोफाइनान्सले ६७ लाख, प्रभू बैंकले ५९ लाख र नवील बैंकले ५६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । किसान माइक्रोफाइनान्सको सेयर मूल्यमा समेत ८.०५ प्रतिशतको वृद्धि भयो ।

यो दिन पोखरा फाइनान्सका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । उनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।