काठमाण्डौ । सेयर लगानीकर्ता संघमा अट्न नसकेर कारबाहीमा परी बाहिरिएका नवराज सुवेदीलाई नेपाल पूँजीबजार लगानीकर्ता संघले समेत बर्खास्त गरेको छ । 

संघले नयाँ अध्यक्षमा उपाध्यक्ष राधा पोखरेललाई चयन गरेको छ । यस्तै, उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाई, सचिवमा एनवी थापा, कोषाध्यक्षमा कल्पना शर्मालाई चयन गरेको छ । संघले सदस्यहरुमा आविष्कार घिमिरे र वाइपी दाहाललाई चयन गरेको विज्ञप्तिमा जनाइएको छ । 

यसरी भयो विवाद
केही दिनअघि पूँजीबजारका जल्दाबल्दा मागसहित उपाध्यक्ष राधा पोखरेलको नेतृत्वमा एक समूहले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर अवगत गराएको थियो । सो क्रममा संघको प्रतिनिधि मण्डलले अर्थमन्त्रीका कारण बजार डामाडोल भएको भन्दै गम्भीर भइदिन र अर्थमन्त्रीलाई सम्झाइदिन समेत आग्रह गरेको थियो । 

त्यस्तै, पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्रालयबाट नेप्सेको सीइओको रुपमा खटाइएका रमेश अर्याललाई समेत भेटेर बधाई दिई बजारको समस्या सम्बोधनको बिषयमा आफ्ना मागहरु प्रस्तुत गरेको थियो । 

तिनै बिषयमा नवराज सुवेदीसँग पोखरेल र अन्यको विवाद भएको हो । आफूलाई जानकारी नदिई राधा पोखरेल लगायतले माधव नेपाल र अन्यलाई भेटेका भन्दै नवराज सुवेदीले सामाजिक सञ्जालमार्फत पोखरेल, राजु पौडेल लगायतलाई बर्खास्त गरिएको बताएका थिए । 

त्यसको केही दिनमै संघको औपचारिक बैठक बसेर सुवेदीलाई नै साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको पोखरेलले बताएकी छिन् । 

सुवेदीले नेतृत्व गर्दा दर्ता नभई अबैधानिक रुपमा संचालित संघमा नयाँ नेतृत्व आएसँगै बैधानिक रुपमा दर्ता समेत गरिएको पोखरेल समूहका एक लगानीकर्ताले जानकारी दिएका छन् । 

पोखरेल नेतृत्वमा आएकै दिन साउन २ गते नेपाल पूँजीबजार लगानीकर्ता संघ औपचारिक रुपमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ । यसको दर्तानम्बर १९३२२४-२०७५/0७६ रहेको छ ।