काठमाण्डौ । बजारमा असार मसान्तको प्रभाव देखिएको छ । असार मसान्तमा गर्नुपर्ने कर तथा ब्याजको जोहो, मौद्रिक नीतिको प्रतिक्षा र असार सकिएलगत्तै आउने सूचिकृत कम्पनीहरुको वार्षिक वित्तीय प्रतिवेदनको प्रतिक्षा लगायतका कारणले बजारको सुस्त गति कायमै देखिएको हो । 

सुस्तमा चालमा हिँडिरहेको बजारमा कारोबार रकमतर्फको पहिरोले अझ बढी निराशा थपिदिएको छ । 

साताको ओपनिङ कारोबार २८ करोड ५२ लाखमा सीमित भएको हो । 

यो दिन नेप्से परिसूचक ०.९५ अंकको झिनो बढोत्तरीमा सीमित रह्यो भने सेन्सेटिभ इण्डेक्स ०.२४ अंक तथा फ्लोट इण्डेक्स ०.०६ अंकले बढ्यो । 

कतिपयले असार मसान्तमा दैनिकजसो देखिने बजारको सुस्त चाललाई बुलिस प्रवृति सुरुवातअघिको सन्नाटा पनि भनिरहेका छन् । देशको अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेका र बजार घट्नुपर्ने कुनै कारण नरहेकोले साउनदेखि बजार बढ्छ भन्ने तर्कमा दम रहेको बजार विश्लेषकहरु बताउँछन् । 

कतिपयले बजारको भविष्य के हुने भन्ने कुरा मौद्रिक नीतिपछि मात्रै थाहा हुनेछ । बजारसँग जोडिने कतिपय जटिल इस्यूहरुमा मौद्रिक नीतिले कस्तो व्यवस्था गर्छ भन्ने विषयले समेत बजारको भविष्य निर्धारण हुने एकथरि जानकार बताउँछन् । 

साताको पहिलो कारोबार दिन आइतबार ५ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ । 

बैंकिङ समूह ०.६१ अंकले घटेको यो दिन बित्त समूहमा १.६१ अंक, निर्जीवन बिमा समूहमा ०.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा २.५३ अंक र माइक्रोफाइनान्स समूहमा ०.४७ अंकको गिरावट आएको छ । 

विकास बैंक समूह ८.८५ अंकले बढेको यो दिन होटल समूहमा ११.९६ अंक, जलविद्युत समूहमा ०.९४ अंक, जीवन बिमा समूहमा ३२.५२ अंक, म्युचुअल फण्ड समूहमा ०.०३ अंक र अन्य समूहमा २.२५ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका १० लाख ४२ हजार ६४६ कित्ता सेयर २८ करोड ५२ लाख १४ हजार ५७२ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नागरिक लगानीकोषले २ करोड  ५३ लाख बढीको कारोबार गर्यो । मेगा बैंकको २ करोड १८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले २ करोड १७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६७ लाख, सिभिल बैंकले १ करोड ३८ लाख, चिलिमे हाइड्रोले १ करोड २४ लाख, अपर तामाकोशीले ९७ लाख, मेगा बैंकले ९३ लाख, प्रभू बैंकले ८२ लाख र सेञ्चुरी कमर्सियल बैंकले ७७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

मल्टिपर्पस फिनान्सका लगानीकर्ताले धेरै गुमाए । यो दिन यो कम्पनीको सेयर मूल्यमा ८.२७ प्रतिशतको गिरावट आयो ।