लण्डन । युनिभर्सिटी अफ सिकागोका प्रोफेसर तथा अन्तराष्टिय मुद्रा कोष(आइएमएफ)का पूर्व मुख्य अर्थशास्त्री रघुराम राजनले पुँजीवाद गम्भीर खतरामा रहेको दाबी गरेका छन् । 

उनले मंगलबार बीबीसी रेडियोको एक कार्यक्रममा कुरा गर्दै समाजमा संभावित विद्रोहको अवस्थाका कारण पूँजीबाद गम्भीर खतरामा रहेको दाबी गरेका हुन् । 

उनले भनेका छन् कि विशेषगरी सन् २००८ को वैश्विक वित्तीय मन्दीपछि विश्वको आर्थिक तथा राजनीतिक व्यवस्था मानिसलाई बराबरी अवसर उपलब्ध गराउन असफल रह्यो ।

रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)का पूर्व गभर्नर समेत रहेका राजनले ‘बीबीसी रेडियो फोर एस टूडे’ कार्यक्रममा भनेका छन् कि अर्थव्यवस्थाको विषयमा सोचिरहँदा विश्वका कुनै पनि सरकारले बढ्दो सामाजिक असमानतालाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन ।

आइएमएफका पूर्व मुख्य अर्थशास्त्री राजनले भनेका छन्–‘पूँजीबाद गम्भीर खतरामा रहेको मेरो ठम्याई हो । किनभने यसमा कैयन मानिसहरुले अवसर पाइरहेका छैनन् र जब यो समस्या बढ्दै जान्छ, तब पूँजीवादविरुद्ध विद्रोह उठ्छ उठ्छ ।’ 

राजनले पूँजीवाद कमजोर बन्दै गएको विश्लेषण गर्दै कारणको रुपमा यसले सबै मानिसलाई बराबरी अवसर दिन नसकेको भनेका छन् । उनले भनेका छन्–‘पूँजीवादले मानिसलाई बराबरी अवसर दिएको छैन । वास्तवमा जति मानिस यसबाट प्रभावित छन्, उनीहरुको अवस्था दिनप्रतिदिन बिग्रिरहेको छ।’ 

उनले अगाडि भनेका छन्–‘संसाधनको सन्तुलन यस्तो बेलामा जरुरी हुन्छ । तपाई आफ्नो इच्छाले केही पनि छनौट गर्न सक्नुहुन्न । यस्तो अवस्थामा अवसरहरुमा सुधार ल्याउन अति आवश्यक छ ।’

राजनका अनुसार विगतमा एक सामान्य शिक्षा प्राप्त गरेपछि एक मध्यम वर्गको जागिर पाउन सहज थियो । तर, सन् २००८ को वैश्विक आर्थिक संकटपछि अवस्था परिवर्तन भएको छ । यदि तपाईले सफलता पाउनुछ भने तपाईका लागि राम्रो शिक्षा अति आवश्यक भइसकेको छ ।

एजेन्सीको सहयोगमा