काठमाण्डौ । नेपालको पूँजी तथा बित्त बजारका बारेमा अध्ययन, अनुसन्धान र बिश्लेषण गर्दै आएका चार्टर्ड फाईनान्सियल एनलिष्ट(सीएफए) चार्टर्ड होल्डरहरुको संस्था एशोसिएशन अफ ईन्भेष्टमेन्ट प्रोफेशनल्स नेपाल(एआईपीएन) स्थापना भएको छ । 

सीएफए ईष्टिच्युटसँगको सामिप्यतामा सीएफए चार्टर्ड होल्डर तथा अध्येताहरुले एआईपीएन गठन गरेका हुन् । 

१२ जना सीएफए चार्टर्ड होल्डर तथा अध्येताहरु संगठित भई सरकारी निकायमा दर्ता गरेर संस्थापन गरिएको हो । 

संस्थाको अध्यक्षमा डा. मनोज शाही, सीएफए छन् भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष बिकास काबरिया, सचिव हेमन्त बस्याल, कोषाध्यक्ष नबिन बास्कोटा र सदस्यहरुमा सन्तोष मैनाली, सुदयकान्त झा, रोबिन अग्रवाल, संयोग प्रधान, सोबिता बुढाथोकी, सफलता श्रेष्ठ, सिताराम ढकाल, युवराज राउत छन् ।

एनआईपीएनले  लगानी तथा पूँजीबजारका बारेमा अध्ययन बिश्लेषण गरी समग्र सामाजिक हितका लागि कार्य गर्ने मुख्य उद्धेश्य राखेको छ ।

यसले पूँजी तथा बित्त बजारका लागि नैतिक ब्यवसायिक ब्यक्तित्वको बिकास, सदस्यहरुको हित सिर्जना,  पूँजीबजारको बिकासका लागि नैतिक पहल गर्ने छ । 

संस्था स्थापना र आगामी कार्यक्रमबारे जानकारी दिलाउन मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष डा. मनोज शाहीले पूँजी तथा बित्त बजारको विकासका लागि सदस्यहरुको क्षमता बिकास गरी सरोकारवालाहरुसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।

सचिव हेमन्त बस्यालले पूँजी तथा बित्त बजार बिकासका लागि नैतिक धरातलमा उभिएर सामूहिक पहल गर्न आफूहरु संगठित भएको बताउँदै संस्थामा सदस्यहरु थप्दै जाने नीति लिईएको जानकारी दिए । 

उनकाअनुसार हाल नेपालमा १२ जना सीएफए चार्टर्ड होल्डर, ३ सय १७ जना अध्येताहरु रहेका छन् । 

नेपालबाहिर भने ठूलो संख्यामा सीएफए चार्टर्ड होल्डरको रुपमा नेपालीहरुले ब्यवसायिक कार्य गरिरहेका छन् । उनीहरुसँग समेत सम्पर्क र सम्बन्ध कायम गरी नेपालको पूँजीबजार,  लगानी र आर्थिक सम्बृद्धिका लागि काम गर्ने संस्थाको उद्देश्य छ ।