काठमाण्डौ । चैत १६ गते दिउँसोबाट पूरा भरिएका सिलिण्डर बिक्री गर्नेहरुलाई सरकारले कारबाही गर्ने भएको छ । 

नेपाल आयल निगमले शनिवार एक सूचना जारी गर्दै चैत १६ गते दिउँसो १ बजेसम्म बिक्री नभएका पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न बिक्रेता र डिस्टीब्यूटर्सहरुलाई निर्देशन दिएको छ। 

दिउँसो १ बजेपछि कुनै पनि बिक्रेतासँग पूरा भरिएको सिलिण्डर पाइएको खण्डमा उनीहरुमाथि कडा कारबाही हुने निगमको चेतावनी छ । 

यसअघि निगमले नाकाबन्दीको जस्तै अवस्था भएको भन्दै आधा भरिएका सिलिण्डर मात्र बिक्रीवितरण गर्ने ग्यास उद्योगीहरुलाई आग्रह गरेको थियो ।

सो आग्रहपछि अधिकांश उद्योगले आधा भरिएका सिलिण्डर बजारमा पठाइरहेको छ । तर, यही बेला कतिपय वितरणहरुले मौज्दातमा रहेको पूरा भरिएका सिलिण्डर समेत बिक्री गरिरहेका पाइएको भन्दै निगमले पछिल्लो सूचना जारी गरेको हो । 

सम्पूर्ण ग्यास बिक्रेता तथा डिस्टीब्यूटर्सले दैनिक सुरुवाती मौज्दात र निजकहाँ प्राप्त हुने वा भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी ग्याँस बिक्री स्थलमा टाँस गरी राख्नुपर्ने नियम समेत निगमले लागू गरिदिएको छ । 

पहाडी जिल्लाको हकमा भने यो व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुने बताइएको छ । 

यस्तै, निगमले ग्यास व्यवसायीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि एकअर्कासँग गरी एकअर्काको उद्योगको सिलिण्डर रिफिल गर्ने सुविधा समेत दिने निर्णय गरेको छ ।