काठमाण्डौ । आन्तरिक उडान भर्दै आएका निजी वायु सेवा कम्पनीहरुले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने व्यवस्था नभएसम्म सेवा सुचारु नगर्ने भएका छन् । 

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले आन्तरिक हवाई उडान सेवा असोज १ गतेदेखि खोल्ने निर्णय गर्दै सुरुवातमा वायु सेवा कम्पनीहरुले जहाजको सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्ने पाउने भनेको थियो । 

पचास प्रतिशत मात्र यात्रुलाई मात्र राखेर हवाई उडान सुरु गर्नुको अर्थ नहुने भन्दै बायुसेवा संचालक संघले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै असोज १ गतेदेखि आन्तरिक उडान सेवा सुरु गर्न असमर्थ रहेको जनाएको हो । 

छिमेकी मुलुक भारत लगायत विश्वका अन्य मुलुकहरुमा लकडाउनपछि हवाई सेवा खुल्दा आन्तरिक उडामा सामाजिक दूरी राखी ५० प्रतिशत मात्र यात्रु बोक्न पाउन व्यवस्था नभएको देखिएको उल्लेख गर्दै संघले भनेको छ-'५० प्रतिशत मात्र यात्रु लैजानुपर्ने अवस्थामा हवाई टिकटको मूल्य दोब्बर पर्न जाने र यात्रुले महंगो दरमा खरीद गर्न नसक्ने हुँदा उडान खोल्नुको कुनै अर्थ रहदैन ।' 

संघले कोरोना भाइरस जोखिमका सबै प्रोटोकलहरुको पूर्ण पालना हुने भएकोले हवाई उडानमा संक्रमण फैलिने संभावना न्यून रहने उल्लेख गर्दै विगत ६ महिनादेखि बन्द हवाई उद्योगलाई ५० प्रतिशत मात्र यात्रु बोक्नुपर्ने निर्णयले आहात भएको प्रष्ट पारेको छ । 

संघले ५० प्रतिशतको व्यवस्था खारेज गरी पूर्ण क्षमतामा यात्रु बोक्न पाउन गरी आन्तरिक उडान यथाशीघ्र पुनः संचालनको व्यवस्था मिलाउन माग गरेको छ ।