काठमाण्डौ । राष्ट्रबैंकबाट हालै मात्र संचालन स्वीकृति पाएको नेपाल पूर्वाधार बैंकले आफ्नो सक्रियता बढाउन थालेको छ । 

यही क्रममा यो बैंकको संचालक समितिले नेपाल सरकारबाट विभिन्न देशका लागि सफारिस राजदूत र आवासीय प्रतिनिधिहरुलाई विशेष समारोहका आयोजनाबीच सम्मान गरेको छ । 

हालै भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य तथा बाँकी ७ राष्ट्र र राष्ट्रसंघका लागि मनोनयन भएकालाई सम्मान गरिएको बैंकले जनाएको छ । 

मलेशियाका लागि राजदूत सिफारिस उदयराज पाण्डे,  दुबईका लागि कृष्णप्रसाद ढकाल,  फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुङ्गाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराइ (राष्ट्रसंघ, जेनेभा), अमृतबहादुर राई(राष्ट्रसंघ न्यूयोर्क)लाई फागुन १ गते बैंकको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा अभिनन्दन गरिएको हो ।

सो कार्यक्रममा बैंकका अध्यक्ष अनुज अग्रवालले सबैलाई स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकको लक्ष्य, स्थापनाको उद्देश्य र कार्यक्षेत्रको विषयमा जानकारी गराएका थिए ।