काठमाण्डौ । पूर्व युवराज पारसविक्रम शाहलाई हृदयघात भएको छ । हृदयघात भएलगत्तै उनलाई अस्पताल लगिएका कारण ज्यान जोगिएको बताइएको छ । 

छातिमा असह्य पीडाको महसुस भएपश्चात पूर्व युवराज पारसविक्रम शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । 

थोरै समय नर्भिकको अन्तर्राष्ट्रिय आकस्मिक कक्षमा राखी जाँच पश्चात् उनलाई तत्कालै क्याथ ल्याबमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उनको मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो । 

धमनीको अवरोध खुलाउन कोरोनरी एञ्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सीसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ । 

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । 

उनको स्वास्थ्य हाल स्थिर रहेता पनि उनी खतरामुक्त अझै भइनसकेका अस्पतालले जनाएको छ । उनकी केही दिन हस्पिटलमै रहनेछन् ।