काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मल्य घटाएको छ । तीनवटै पेट्रोलियम पदार्थको मूल्यमा १ रुपैयाँ ५० पैसाको दरले कटौति गरिएको हो ।

निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।

मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य घटी प्रति लिटर ७६ रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रति लिटर १०१ रुपैयाँ ५० पैसा, डिजेल तथा मट्टितेलको मूल्य समान ७७ रुपैयाँ ५० पैसा रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको र इण्डियन आयल कर्पोरेसनले घटाएर नयाँ मूल्य सूचि पठाएका कारण सोही अनुसार पेट्रोलियम मूल्य घटाइएको निगमले प्रष्टाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटे पनि खाना पकाउने एलपीजी ग्याँसको मूल्य भने घटेको छैन । ग्यासको मूल्य प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँ नै कायम छ ।

स्मरण रहोस्, घटेको मूल्यपछि नेपालमा भारतको भन्दा पेट्रोल ११.५५ रुपैयाँ, मटिटतेल ११.४० रुपैयाँ र डिजेल १९.३५ रुपैयाँ सस्तोमा बिक्री हुनेछ । यति हुँदा समेत निगमलाई मासिक ७० करोड भन्दा माथि नाफा हुने प्रवक्ता पोखरेलले जानकारी दिए ।