काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको पूर्वाधार विकास करमा सतप्रतिशत वृद्धि गरी १० रुपैयाँ पुर्याएको छ । 

यसअघि पेट्रोल र डिजलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर लगाइएको थियो । त्यसलाई बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याइएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् । 

खतिवडाका अनुसार गत फागुन १२ गते बसेको मन्त्रिपरिषद  बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लगाउने निर्णय गरेको हो । 

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर बढाएर १० रुपैयाँ पुर्याइएको हो । 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । र, अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ ।

यसैबीच, नेपाल आयल निगमले भने सरकारले पूर्वाधार विकास कर सतप्रतिशत वृद्धि गरे पनि तत्काल पेट्रोल डिजेलको मूल्य नबढ्ने प्रष्ट पारेको छ ।