काठमाण्डौ । पेप्सिको कम्पनीकी पूर्व प्रमुख कार्यकारी अधिकृत(सीइओ) इन्दिरा नूई अमेजनको संचालकमा नियुक्त भएकी छिन् । 

अनलाइनमार्फत खुद्रा कारोबार गर्दै आएको अमेरिकी कम्पनी अमेजनले यस्तो जानकारी दिएको रोयटर्सले जनाएको छ । 

भारतीय मूलकी नुई गत वर्षको अक्टोबरमा पेप्सिकोको सीइओ पदबाट राजीनामा दिएकी थिइन् । उनी अमेजनको संचालक समितिमा प्रवेश पाउने दोश्रो अश्वेत महिला हुन् । 

अमेजन विश्वकै धनी जेफ बेजोसले स्थापना गरेको इकमर्ससँग सम्बन्धित कम्पनी हो । 

यसअघि फेब्रुअरीको सुरुवातमा स्टारबक्सकी कार्यकारी रोजलिण्ड ब्रेवर पनि अमेजनको संचालकमा नियुक्त भएकी थिइन् । 

अमेजनले एक विज्ञप्ति निकाल्दै भनेको छ–‘हामीले यो महिना हाम्रो संचालक समितिमा दुई नयाँ सदस्यलाई समाहित गर्न पाउँदा उत्साहित छौ । रोज ब्रेवर र इन्दिरा नुईलाई स्वागत छ ।’ 

नुईले कम्पनीको लेखापरीक्षण समितिको सदस्य समेत बन्ने छिन् ।

उनी अक्टोबर २००६ देखि २०१८ सम्म पेप्सिकोको सीइओ रहेकी थिइन् । उनले पेप्सिको कम्पनीमा २००७ मईदेखि २०१९ फेब्रुअरीसम्म संचालक समितिको अध्यक्षको रुपमा समेत काम गरेकी थिइन् ।

उनलाई सन् २००१ मा पेप्सिकोको संचालक समितिमा सामेल गराई मुख्य वित्तीय अधिकारीको जिम्मेवादी दिइएको थियो । नुई पेप्सिकोसँग सन् १९९४ देखि नै आबद्ध हुँदै आएकी थिइन ।