काठमाण्डौ । ह्वाइट हाउसले विश्व बैंकको अध्यक्ष पदमा शितल पेय बनाउने वैश्विक कम्पनी पेप्सिकोका पूर्व सीइओ इन्दिरा नुईको नाममा विचार गरिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतमा जन्मिएकी ६३ वर्षीया नुईले १२ वर्षसम्म पेप्सिकोको कमाण्ड सम्हालेकी थिइन् । उनले गत वर्षको अगस्टमा राजीनामा गरेकी थिइन् । 

द न्यूयोर्क टाइम्समा छापिएको एक खबरअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवाङ्का टम्पले नूईलाई प्रशासनिक सहयोगी रहेको बताएकी छिन् । विश्व बैंकको नयाँ प्रमुखको चयन प्रक्रियामा इवाङ्काले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी समाचारमा दाबी गरिएको छ । 

विश्व बैंकको नयाँ प्रमुखको चयन प्रक्रियासँग नजिक रहेका अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार अहिले त्यो प्रक्रियाको प्रारम्भिक चरण मात्र सुरु भएको छ । कतिपय अवस्थामा यस्ता नियुक्तिको दौडमा सुरुवाती अवस्थामा दाबेदार मानिएकाहरु अन्तिममा छनौटमा नपर्न पनि सक्छन् । तथापि, अहिलेसम्म यो स्पष्ट छैन कि ट्रम्प प्रशासनले उनलाई विश्व बैंकको अध्यक्षमा सिफारिस गरिहाले पनि त्यसलाई नुईले स्वीकार्छिन वा नकार्छिन ।

खबरका अनुसार एक ट्वीटमा नुईलाई आफ्नो मार्गदर्शक एवम् प्रेरणास्रोत भनेर इवाङ्काले पेप्सिकोकी पूर्व सीइओको नाम विश्वबैंकको संभावित उत्तराधिकारीको पदका लागि अगाडि ल्याएकी हुन् । 

विश्व बैंकका वर्तमान अध्यक्ष जिम योङ किमले यो महिनाको सुरुवातमै आफूले फेब्रुअरीमा पद त्याग गर्ने घोषणा गरिसकेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी छोरी इवाङ्का विश्व बैंकको नयाँ अध्यक्ष चयनमा महत्वपूर्ण भूमिकामा हुने दाबी गरिएको छ । राष्ट्रपति कार्यालय ह्वाइटहाउसले स्पष्ट पार्दै भनेको छ कि इवाङ्का आफैं चाहि यो पदका लागि उम्मेद्वार बन्ने छैनन् । ट्रम्प सरकारमा इवाङ्का वरिष्ठ सल्लाहकार पनि हुन् ।

द फाइनान्सियल टाइम्सले आइतबार भनेको थियो कि जिम योंग किमको स्थान लिने संभावित अमेरिकी उम्मेद्वारमा ३७ वर्षीया इवाङ्का तथा संयुक्त राष्ट्रसंघमा वासिङ्गटनका पूर्व राजदूत निक्की हेलीको नाम पनि चर्चामा छ । तथापि, ह्वाइटहाउसका संचार उपनिर्देशक जेसिका डिट्टोले यो खबरको खण्डन गर्दै सोमबार भनेका छन्–‘वित्तमन्त्री स्टीभन म्नुचिन तथा ह्वाइटहाउसका चीफ अफ स्टाफ मिक मुलवानेले इवाङ्कासँग अनुरोध गरेका छन् कि उनले विश्व बैंकको नयाँ अध्यक्ष चयनमा सहयोग गरुन्, किनभने उनले विगत २ वर्षमा विश्व बैंकको अध्यक्षसँग निकट बसेर काम गरेकी थिइन् ।’ 

परम्परालाई हेर्ने हो भने विश्व बैंकको अध्यक्षमा कुनै अमेरिकी तथा अन्तराष्ट्रिय मुद्राकोषको प्रमुखमा कुनै यूरोपियलाई नियुक्त गरिन्छ । सन् २०१२ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले दक्षिण कोरियाका चिकित्सा विशेषज्ञ डा. जिम योङ किमलाई यो पदमा नियुक्त गरेका थिए । डा. किमले निकै लामो समयसम्म विश्व स्वास्थ्य संगठनमा समेत काम गरिसकेका छन् ।