काठमाण्डौ । तपाई पैसा कसरी कमाउनुुहुन्छ भन्ने कुरा मात्र महत्वपूर्ण होइन, बरु कमाएको पैसालाई कसरी खर्च गर्नुहुन्छ भन्ने बिषय पनि उत्तिकै महत्वपूर्ण हो । पैसाको बिषयमा तपाईले कस्तो व्यवहार गर्नुहुन्छ, यस्तो बिषय तपाईबाट तपाईको बच्चाहरुले समेत सिकिरहेका हुन्छन् । तपाईको पैसा कमाउने र खर्च गर्ने शैलीबाट बच्चाले समेत सिकिरहेका हुन्छन्, कतिपय बानीलाई पछ्याइरहेका पनि हुन्छन् । यस्तो अवस्थामा यदि तपाईको पैसाको व्यवस्थापन राम्रो छैन भने यसले बच्चाहरुको भविष्यमा समेत असर पार्नसक्छ । पैसाको बिषयमा तपाईसँग खराब आदत छ भने यसले तपाईको बच्चाको भविष्य समेत खराब बनाइदिनसक्छ । त्यसकारण पैसाको बिषयमा गरिने यस्ता केही गल्तीबाट बच्नुपर्छ, ताकि तपाईको बच्चामा कुनै गलत प्रभाव नपरोस् ।

धेरै ऋण लिनुु
कतिपय अभिभावक यस्ता हुन्छन्, जो अधिक ऋण लिन्छन् । पैसाको सही प्रबन्ध नगर्दा अधिकांश समयमा यस्तो समस्या हुनसक्छ । यसबाहेक एउटा खास जीवनशैली चलाउनैका लागि समेत कतिपय अभिभावक कर्जा लिइरहेका हुन्छन् । यदि लगातार ऋण मात्र लिइन्छ भने यसको गलत प्रभाव बच्चाहरुमा पर्न जान्छ । यस्ता अभिभावकले आफ्ना बच्चालाई कहिल्यै पनि आफ्नो खर्च आफ्नो आम्दानीको परिधिभित्रै राख्नुुपर्छ भनेर भन्न सक्दैनन् वा सम्झाउन सक्दैनन् । भविष्यमा उनीहरुका बच्चाले समेत यही बाटो रोज्न सक्छन् । यस्तो बानीले उनीहरुको आर्थिक भविष्य मात्र डामाडोल हुन्न, मासिक खर्चको बिषयमा समेत निरन्तर दवाबमा रहनुपर्ने अवस्था आउनसक्छ ।

धेरै खर्च गर्नु
धेरै अभिभावक यस्ता हुन्छन्, जो धेरै खर्चिलो जीवन जिउँछन् । आफ्ना बालबच्चाहरुमा आवश्यकताभन्दा बढी पैसा खर्च गर्छन् र उनीहरुका हरेक माग पूरा गर्नतर्फ लाग्छन् । तर, यो निकै गलत बानी हो । तपाईको बच्चाले ठूलो भएपछि यो बानीको मूल्य चुकाउनुपर्ने हुनसक्छ । तपाईको बच्चा ठूलो भएपछि तपाईसँग अहिले भएजत्तिकै उसँग पनि पैसा हुन्छ र तपाईले जस्तै खर्चिलो जिन्दगी जिउन पाउँछ भन्ने कुनै ग्यारेण्टी हुँदैन । यदि यस्तो भयो भने परिणामस्वरुप तपाईबाट उसले सिकेको खर्चिलो जीवनशैली मेन्टेन गर्नैका लागि तपाईको सन्तानले भविष्यमा कर्जा लिन थाल्छ र यसले उसको आर्थिक अवस्था डामाडोल बनाइदिनसक्छ । यसले उसको समग्र भविष्य नै अन्धकारमय हुनसक्छ ।

आवश्यकताबिनाको किनमेल
कतिपय अवस्थामा मानिसहरु आवश्यकताबिना नै किनमेल गरिरहेका हुन्छन् । वा, विदाको बेलामा घुम्न समेत जान्छन् । कतिपयलाई थाहा हुन्छ कि यसो गर्नु उनीहरुको आर्थिक क्षमता भन्दा बाहिरको कुरा हो, तर पनि उनीहरु यो बानीप्रति नियन्त्रण कायम राख्न सक्दैनन् । यसको असर त्यस्ता मानिसको आर्थिक योजनामा पर्न जान्छ र अर्कोतर्फ बचतमा समेत नराम्रो असर पर्नसक्छ । बाहिर घुम्न जाँदा भएको खर्चका कारण उनीहरुको लामो समयसम्मको बचत तथा रिटायरमेन्ट योजनामा समेत नकारात्मक प्रभाव पर्न जान्छ । यस्तो बेलामा बच्चाले बित्तीय अनुशासनको कति महत्व हुन्छ भन्ने कुरा बुुझ्दैन । आफ्नो बजेटमा जिन्दगी जिउनुुको फाइदाको बिषयमा समेत उसले सिक्दैन । 

पैसाको बिषयमा झगडा गर्नु
कतिपय परिवारमा आमाबुुबा पैसाको बिषयलाई लिएर बच्चाको अगाडि नै झगडा गरिरहेका हुन्छन् । यदि अभिभावक यस्तो गर्छन् भने बच्चाको मनमा यसको नकारात्मक असर पर्नेछ । अभिभावकको यो प्रवृतिका कारण बच्चा तनावको शिकार बन्न सक्छ । यसकारण पैसाको बिषयलाई लिएर बच्चाको अगाडि कहिल्यै पनि झगडा गर्नु हुँदैन । अभिभावकले पैसाको बिषयमा छलफल वा सल्लाह गर्दा समेत बच्चा नभएको अवस्थामा गर्नु श्रेयस्कर हुन्छ ।

संकटमा सहयोग नगर्नु
यदि तपाई कसैलाई निकै ठूलो आपत आइलाग्दा समेत पैसाको सहयोग गर्नुहुन्न भने पनि यो गलत बानी हो । किनभने यस्तो व्यवहारबाट समेत तपाईले आफ्नो बच्चालाई संवेदनशील मानिस बन्नबाट बञ्चित गरिरहेको हुनुहुनेछ । बरु अति आवश्यक अवस्थामा तपाईले पैसाको सहयोग गर्नुपर्छ र यसको माध्यमबाट बच्चालाई तपाईले पैसाको महत्वको बिषयमा समेत बताउन सक्नुुहुन्छ । पैसाको आवश्यकता कुनै पनि समयमा जोसुकैलाई पनि पर्नसक्छ भन्ने शिक्षा पनि दिन सक्नुुहुन्छ । तथापि, आफ्नो बजेटभन्दा बाहिर गएर अरुलाई सहयोग गर्नु पनि राम्रो बानी चाहि होइन । यस्तो खराब बानीको समेत तपाईले मूल्य चुकाउनुपर्ने हुनसक्छ ।