काठमाण्डौ । आवश्यक पर्दा घरका सदस्य र साथीभाइसँग हात फैलाउन सजिलो हुन्छ। तपाइँ कहिलेकाहीँ उनीहरुसँग झगडा गर्नुहुन्छ, कहिलेकाहीँ नमिठो वचन लगाउनुहुन्छ तर पछि फेरि केही समयपछि आपसमा घुलमिल गर्नुहुन्छ। 

आपसमा देखिएको मनमुटाव त केही समयपछि हट्छ तर पैसाको लेनदेनबाट भएको खटपट अन्त्य गर्न त्यति सजिलो भने छैन। परिवारका सदस्य, आफन्त र साथीभाइसँगको सम्बन्धमा कायम राख्न पैसा र सम्पत्तिले ठूलो भूमिका खेलेको हुन्छ। 

यदि तपाइँलाई पैसा आवश्यक पर्यो भने के गर्ने? परिवारका सदस्य, आफन्त वा साथीभाइसँग माग्ने कि वित्तीय संस्थाहरुबाट कर्जा लिने? निर्णय लिनुअघि तल उल्लेखित कुराहरुमा विशेष ध्यान दिनुहोस्, सहज हुनेछ।

१. जिरो या कम ब्याजदर

यदि तपाइँको परिवारका सदस्य, आफन्त वा साथीभाइसँग राम्रो सम्बन्ध छ र यसअघि पैसा आवश्यक पर्दा सापटी लिनुभएको छैन वा लिएर भाका गरेको समयमै पैसा फिर्ता गर्नु भएको छ भने अब फेरि पैसा लिँदा तपाइँलाई झन्झट हुने छैन। यसरी आफन्त र साथीभाइबाट सापटी लिँदा तपाइँले ब्याज पनि तिर्नु नपर्ने हुन सक्छ वा तिर्नुपरे पनि वित्तीय संस्थाले लिनेभन्दा कम ब्याज दिनुपर्छ। समयको पनि बचत हुन्छ। तपाइँले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समय लाग्न सक्छ र निश्चित ब्याज पनि तिर्नुपर्छ। यस्तो अरु विकल्प छैन भने परिवारजन, आफन्त वा साथीभाइबाट सापटी लिँदा तपाइँलाई फाइदा हुन्छ। 

२. सजिला सर्त

परिवारजन वा साथीभाइबाट सापटी लिँदा अर्को फाइदा भनेको पैसा फिर्ता गर्ने समयसीमा। कतिपयले तपाइँलाई सापटी दिँदा आफूसँग भएपछि दिँदा हुन्छ भन्न सक्छन्। कतिपयले यति समयभित्र तिर्दा हुन्छ भन्ने गर्छन्। यसले गर्दा तपाइँले सापटी फिर्ता गर्ने पर्याप्त समय पाउन सक्नुहुन्छ। तर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा तपाइँलाई कर्जाको प्रकृतिअनुसार समयसीमा तोकिएको हुन्छ। अनि उक्त समयसीमासम्म तपाइँले मासिक रुपमा साँवा र ब्याज मिलाएर ईएमआई तिर्नुपर्ने हुन्छ। यसले तपाइँको मासिक बजेट योजनामा धक्का पुग्न सक्छ। 

३. औपचारिक प्रक्रियाबाट छुट्कारा

परिवारजन वा साथीभाइबाट सापटी लिँदा औचापरिक प्रक्रिया पूरा गरिराख्न पर्दैन। यसले गर्दा तपाइँले आवश्यक परेको समयमै पैसा जुटाउन सक्नुहुन्छ। तर यदि तपाइँले कुनै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदै हुनुहुन्छ भने कागजी प्रक्रिया पूरा गर्न समय लाग्न सक्छ। 

४. सम्बन्धमा खटपट

परिवारजन वा साथीभाइबाट सापटी लिँदा तपाइँलाई केही फाइदा भए पनि सम्बन्धमा खटपट आउन सक्छ। यदि तपाइँले यसरी लिएको सापटी फिर्ता गर्न त्यति महत्व दिनु भएन भने भविष्यमा यसले परिवारजन र साथीभाइसँगको सम्बन्धमा खटपट निम्त्याउन सक्छ। यसले सम्बन्धमा अनावश्यक तनाव सिर्जना गर्न सक्छ। किनकि सापटी दिनेहरु पनि तपाइँसँग सम्बन्ध अगाडि बढाउन असहज महसुस गर्न सक्छन्। यसले गर्दा आपसी सम्बन्ध भविष्यमा पनि डामाडोल हुन सक्छ। 

५. अब के गर्ने त ?

परिवार वा साथीभाइसँग त्यतिमात्र सापटी लिनुहोस् जुन तपाइँले फिर्ता गर्न सक्नुहुन्छ। अझ ठूलो रकम सापटी लिने कोसिस नै नगर्नुहोस्। सकभर साथीभाइ र परिवारजनसँग सापटी लिँदा पनि लिखित रुपमा कारोबार गर्नुहोस्। यसबाट तपाइँलाई सापटी लिएको पैसा कबोल गरेको समयसीमाभित्रै दिनुपर्छ भन्ने भावना सिर्जना हुन्छ।