काठमाण्डौ । बलिउडका सुपरस्टार अमिताभ बच्चन हिजोआज सोनी टेलिभिजनमा आउने कौन बनेगा करोडपति कार्यक्रमका कारण चर्चामा छन् ।

छोटकरीमा केबिसी भनिने यो कार्यक्रमको दशौं संस्करण चलिरहेको छ र यो संस्करणमा एक महिला प्रतिस्पर्धीलाई ७ करोड भारुका लागि प्रश्न गर्ने अवस्था सिर्जना भएको छ । अर्थात केबिसीमा एक महिला ७ करोड नजिक पुगेकी छिन् । यो बिषयमा भारतदेखि अन्य देशमा समेत व्यापक उत्सुकता छ । अरुलाई करोडपति बनाउने कार्यक्रमको होस्ट गर्दै आएका बच्चन आफैं पनि पैसा कमाउन निकै माहिर मानिन्छन् । 

भारतीय मिडियाहरुका अनुसार अमिताभ बच्चनले २ वर्षको अन्तरालमा आफूले लगानी गरेको १ करोड भारुलाई बढाएर ७५ करोड रुपैयाँ बनाइसकेका छन् । यहीकारण भारतमा बच्चनलाई सानो लगानीलाई निकै ठूलो बनाउन माहिर व्यक्तिको रुपमा समेत चित्रण गर्न थालिएको छ । 

बच्चनले यस्तो केही काम गरे, जसबाट उनले गरेको १.५७ करोड भारुको लगानी २ वर्षमै बढेर ११४ करोड रुपैयाँ पुग्यो । अर्थात औसतमा उनले १ करोडको लगानीलाई ७५ करोडको उचाईमा पुर्याउने सफलता पाए । 

विजिनेश स्ट्याण्डर्डमा छापिएको एक रिपोर्टअनुसार बलिउडका महानायक अमिताभ बच्चन तथा उनका छोरा अभिषेक बच्चनले सन् २०१५ मा सिंगापुरको एक कम्पनी मेरिडियन टेक प्रालिमा २.५० लाख डलर लगानी गरेका थिए । लगभग २ वर्षमा उनको यो लगानी बढेर १.७५ करोड डलर पुगेको हो । यो लगानीलाई बच्चनले विदेशमा गरेको हालसम्मकै ठूलो लगानी पनि मानिन्छ । यो आँकडा केही अगाडिको हो ।

२ दिनमै बदलियो भाग्य
केही समयसम्म मेरिडियन टेक खासै नाम सुनिएको कम्पनीको रुपमा थिएन । डिसेम्बर २०१७ मा नाटकीय रुपमा यो कम्पनीको भाग्य नै बदलियो । त्यो बेला मेरिडियनको मुख्य सम्पत्ति जिड्डू डटकमसँग जोडिएको एक कम्पनी लङफिन कर्पले खरीद गर्यो । यो कम्पनी नेस्डेकमा सूचिकृत रहेको छ । 

यो लगानी दुई अलग अलग अकाउण्टबाट गरिएको थियो । एउटा अकाउण्ट थियो अमिताभ बच्चनको, जसबाट १.५० लाख डलर गरिएको थियो भने अमिताभ र अभिषेक बच्चनको संयुक्त खाताबाट चाहि १ लाख डलर लगानी गरिएको थियो । 

सेयर भाउमा २०००% को वृद्धि
डिसेम्बरमा एक समय लङफिनको सेयर मूल्यमा २००० प्रतिशतसम्मको बढोत्तरी भएको थियो । तर, कम्पनीलाई जिड्डू डटकमले किनेको खबर आएसँगै यो कम्पनीको सेयर मूल्यमा २५०० प्रतिशतको बढोत्तरी भयो । एक रिपोर्टका अनुसार लङफिनको सेयर खरीद गरेपछि बच्चन परिवारलाई २.५० लाख कित्ता सेयर प्राप्त भयो । यो कम्पनीको सेयर ७० डलरको उचाईमा पुगेको छ । यसको अर्थ बच्च परिवारको सेयरको मूल्य १.७५ करोड डलरको उचाईमा पुग्यो ।

सिंगापुरको कम्पनीमा लगानीसँगै अमिताभ बच्चनले क्रिप्टोकरेन्सी बिटक्वाइनमा समेत लगानी गरेका खबर बाहिर आएको थियो । त्यसबाट समेत उनले कुस्त पैसा कमाएका थिए ।