नरेन्द्रकुमार नगरकोटी

पैसा भन्नेबित्तिकै तपाईंको दिमागमा के कुराको चित्र आउँछ ? सायद रु. १००० वा ५०० का नोट तथा बिटाका बिटा पैसाको दृश्य आउँछ होला। तपाईंले पैसा सुनेको, देखेको वा पहिलोपटक स्पर्श गरेकोे सम्झना गर्नुपर्दा कस्ता कथाहरु आउँछन् ?

मेरी आमा धारामा नुहाउने–धुने काममा व्यस्त हुनुहुन्थ्यो। मैले धाराकै छेऊमा दराजको साँचोको झुप्पो देखेँ। त्यस झुप्पाले मलाई एकाएक घरभित्रको दराजभित्र पुर्यायो। मैले कहिले नगरेको र जान्दै नजानेको काम गर्न उत्प्रेरित गर्यो। साँचोको काम नै खोल्ने हो। मेरो मनमा यस्तो ढोका खोलिदियो कि मैले सुटुक्क त्यो साँचोको झुप्पो टिपेँ।

साँचोको झुप्पोमा धेरै किसिमका साँचोहरु थिए। कस्तो जान्ने साँचो रहेछ, मलाई चिनिने गरी नै टल्कियो र भन्यो, ‘म हुँ तिम्रो दराजको ताल्चा खोल्ने साँचो।’ यस्तो लाग्यो मनमा सोचेजस्तै भयो। फटाफट साँचोले दराज खोलेँ।

पैसा भन्ने चिजप्रति त्यत्रो आशक्ति मलाई। मैले दराजभित्र पैसाबाहेक केही देखिनँ। अरु के–के थिए, मलाई चासो–मतलब केही भएन। अनि मैले इमानदारी पनि बाँकी राखेँ। सबै पैसा निकाल्ने आँट, हिम्मत र मनसाय केही राखिनँ। मैले तत् क्षण दुईवटा पैसा निकालेँ। एउटा नोट थियो र अर्को सिक्का।

मैले पैसा छोएँमात्र होइन पैसा आफ्नै खल्तीमा राख्न पनि पाएँ। दराज बन्द गरेँ। अनि हतार–हतार साँचोको झुप्पो जहाँको त्यहीँ लगेर राखिदिएँ।

कसैले केही पत्तो पाउने कुरै भएन। कसले देख्नु, कसले भन्नु ? साँचो मौन थियो। ताल्चा चुप थियो। अनि दराज सुनसान।

पैसा पनि मेरो बगलीमा कैद थियो। 

पैसा हात परेपछि वा भनौँ खल्तीमा परेपछि मेरो जाँगर दोब्बर भयो। सबैलाई त्यस्तै हुन्छ होला। पैसाले हिँडाउँछ, डुलाउँछ। पैसा आफैँ पनि हिँड्छ, डुल्छ। एकै ठाउँमा बस्नु पैसाको धर्म नै होइन।

म त मिलिक्क भइगएँ। कान्छो छोरो घरमा छैन। कसैले खोजी पनि गरेन मेरो।

म पुगेँ पसले कान्छाको पसलमा। उहाँ मेरो हजुरबुबा पर्ने नाताले। हाम्रो कुलपूजा सँगै हुन्थ्यो। कुलपूजा हुँदाको बखत मलाई मायाले खानेकुरा खुवाइदिएको बाल्यकालको याद आज पनि झलझली आउँछ। उहाँको पसलमा रक्सी, बिस्कुट, चकलेट, चुरोट, सलाई यस्तै के–के पाइन्थ्यो। 

‘अनि के गर्न आइस् ?’ 

म मुस्कुराएँमात्र।

‘के च्यापेको त्यो हातमा ?’

मेरो हत्केलामा दुइटा पैसा च्यापिएको थियो।

‘बिस्कुट दिनु न बाजे।’

‘कति पुरिया दिउँ, ल भन् ?’

म बोलिनँ। 

‘पैसा ल्याको छ ?’

‘अँ ! छ नि। यी यो दुइटा पैसा छ।’ 

बाजेले अनि भन्नुभयो, ‘खै ल्या पैसा मलाई दे।’

‘ल यसको चाहिँ यत्तिमात्र आउँछ बिस्कुट त।’ यसो भनेर एक पुरिया बिस्कुट दिनुभयो। 

म बिस्कुट हात पारेर त्यहाँबाट फरार भएँ। दुइटा पैसाले एक पुरिया आउने रहेछ। 

घरमा बिस्कुट लैजानु भएन। सोधी–खोजी हुन्छ। अनि मैले बिस्कुटको पुरिया खोलेर पसलबाट अलिक वर आएदेखि बिस्कुट स्वाद लिई–लिई खान थालेँ। बिस्कुट घर पुग्दासम्म खाएर सक्नुपर्ने थियो। यस कार्यमा सफल भएँ।

एउटा पौरख सफल भयो। मनमा कुनै डर–त्रास थिएन।

‘कान्छा बिस्कुट त मीठो थियो होला नि ?’

‘कुन बिस्कुट र ?’

मैले दराजबाट लगेको दुइटा पैसामा एउटा पैसा एक हजारको नोट र अर्को पैसा चाहिँ एक रुपियाँको सिक्का रहेछ। त्यो समयमा सिक्काको मोलको बिस्कुट मलाई दिनुभएको रहेछ। अनि मेरो बुबालाई एक हजारको नोट चाहिँ बाजेले फिर्ता गर्नुभएको रहेछ।

बाजेको इमानदारितालाई सलाम गरिरहेछु यतिखेर।