काठमाण्डौ । वाणिज्य बैंकहरुलाई पछ्याउँदै देशका विकास बैंकहरुले समेत निश्चित अवधिमा पैसा दोब्बर हुने प्रकृतिको मुद्धती निक्षेप योजना सार्वजनिक गर्न तँछाडमछाड गर्न थालेका छन् । 

पैसा राखेको निश्चित वर्षभित्र दोब्बर हुने योजना लोकप्रिय बन्दै गएपछि विकास बैंकहरुमा समेत यस्तो तँछाडमछाड देखिएको हो । 

बैंकिङ क्षेत्रको यही ट्रेण्डलाई पछ्याउँदै बुधबार सांग्रीला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले पनि डबल डिपोजिट योजनाका स्किम सार्वजनिक गरेका छन् । 

सांग्रीलाले ‘एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको हो । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात रु पाँच हजारबाट सुरु गर्न सकिनेछ । 

यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधि पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, कामना सेवा विकास बैंकले पनि ‘डबल डिपोजिट मुद्धती खाता’ संचालनमा ल्याएको छ । बैंकले माघ १४ गतेदेखि लागूू हुने गरी यस्तो खाता संचालनमा ल्याएको हो । 

डबल डिपोजिट मुद्दती खाता योजना अन्तर्गत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन् ।

यो बैंकमा यस प्रकारको मुद्दती खाता खोल्नका लागि भने न्यूनतम रु १ लाख हुनै पर्नेछ । यस्तो खाता खोल्नेका लागि बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमाको कभरेज समेत दिने जारी विज्ञप्तिमा उल्लेख छ ।