काठमाण्डौ । आफूले परिश्रम गरी कमाएको पैसा बचाउन ठूलै मेहनत, आर्थिक अनुशासन र दृढ प्रतिबद्धताको आवश्यकता पर्दछ । तर जीवनमा अन्य आवश्यकता पनि परिपूर्ति गर्नुपर्ने भएकाले कमाइको एउटा ठूलो हिस्सा खर्च गर्नुुपर्ने बाध्यतासमेत पर्ने गर्दछ । त्यसैले भविष्यका लागि पैसाको नियमित जोहो गर्न एउटा गतिलो आर्थिक योजाना बनाउनुपर्दछ । जसले गर्दा पैसाको बचत हुनुका साथै खर्च धान्नसमेत मद्दत पुग्ने गर्दछ । 

नियमित रुपमा बचत गर्ने बानी आफैँमा राम्रो कुरा हो । यसले तपाइँको वर्तमान आर्थिक अवस्था सुधार हुने गर्दछ र तपाइँको भविष्यका आवश्यकता परिपूर्ति गर्न सजिलो हुने गर्दछ । तर आफ्नो कमाइको एक हिस्सा बैंकमा जम्मा गरेर मात्रै तपाइँको पैसा बढ्नेवाला भने छैन । यदि तपाइँ आफ्नो पैसा बढाउन चाहनुहुन्छ भने आफ्नो बचत भएको पैसालाई अन्य क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ ।

यहाँ हामी तपाइँलाई बचत गर्दा हुने केही सामान्य गल्ती र ती गल्तीबाट बच्ने उपायका बारेमा प्रकाश पार्दैछौँ । यी उपाय अपनाउँदा तपाइँले पैसा बचाउन सक्नुहुन्छ र भविष्यको आवश्यकता पनि सहजै पूरा गर्न सक्नुहुन्छ।

प्रत्येक महिनाको सुरुआतमा निश्चित रकम बचत गर्नुहोस् 

तपाइँले आफ्नो सबै आम्दानी बचत गर्नुपर्छ भन्ने पनि छैन । यसको साटो महिनाको सुरुआतमा एउटा निश्चित रकम जम्मा गर्नमा जोड दिनुहोस् र बाँकी रहेको रकमबाट अन्य आवश्यकता पूर्ति गर्नुहोस् । यसरी रकम बचत गर्दा खर्च गरिसकेपछि बाँकी रहेको रकमबाट होइन कि खर्च गर्नुभन्दा अगाडि नै बचत गर्ने बानी बसाल्नुपर्दछ । यो नियम लागू नगरे तपाइँले धेरै नै नोक्सानी व्यहोनुपर्ने हुन सक्छ । 

दैनिकको भागदौडको जिन्दगीबाट अलिकति समय निकालेर कतै फिल्म हेर्न जाने, घुम्न जाने, रेस्टुराँ गएर मनोरञ्जन गर्ने गर्दा यसले खासै असर गर्दैन तर यस्ता क्रियाकलापमा गर्ने खर्चको मात्रा भने तपाइँको आम्दानीको एउटा सानो भागमात्रै हुनुपर्दछ । यस्ता क्रियाकलापमा कम खर्च गर्न महिनाको सुुरुआतमै पैसा बचत गर्नुपर्दछ र बाँकी रहेको पैसाबाट मनोरञ्जनमा खर्च गर्नुपर्दछ । यसो गर्दा तपाइँको खर्च गर्ने बानीमा अंकुुश लाग्नुका साथै नियमित बचत गर्ने बानीको विकास हुने गर्दछ । 

रियलिस्टिक बचत गर्ने लक्ष्य राख्नुहोस् 

रियलिस्टिक लक्ष्य राख्नु तपाइँको आर्थिक अवस्था र जीवनका लागि एकदमै महत्वपूर्ण हुने गर्दछ । वास्तवमा तपाइँले बचत गरेको पैसाले बढ्ने मौका पाउनुपर्दछ । ता कि भविष्यमा तपाइँको आर्थिक स्थायित्वका लागि सम्पत्ति निर्माण गर्न यसले सहयोग मिलोस् । यसका लागि तपाइँको आम्दानी, उमेर, रिक्स प्रोफाइल र आर्थिक लक्ष्यका आधारमा आफ्ना लागि उपयुक्त लगानीका माध्यमहरु छनोट गर्नुपर्दछ । यसका लागि तपाइँले आर्थिक सल्लाहकारको समेत सहयोग लिन सक्नुहुन्छ । जोखिम लिन सक्ने क्षमता हेरेर तपाइँले सेयरमा, म्युचुअल फन्ड र अन्य वित्तीय माध्यममा लगानी गर्न सक्नुहुन्छ । 

वस्तु खरिदमा सावधानी अपनाउनुुहोस् 

तपाइँ हामीमध्ये कयौँ व्यक्ति डिस्काउन्ट पाउने लोभमा बजारमा सेलमा राखिएका वस्तुहरु खरिद गर्ने गर्दछौँ । यस्ता वस्तु  डिस्काउन्टको चक्करमा लागेर खरिद गर्नुहुँदैन । सेलमा राखिएका त्यस्ता वस्तुु प्रायः कम गुण्स्तरका हुने गर्दछन् । त्यस्ता वस्तुु खरिद गर्दा क्षणिक रुपमा नाफा भएजस्तो देखिए पनि पछि चाँडै बिग्रने भएकाले थप आर्थिक नोक्सानी व्यहोनुपर्ने हुन सक्छ । वस्तु खरिद गर्दा सकेसम्म आफ्नो आर्थिक हैसियत हेरेरमात्रै गर्नुपर्दछ । अरुबाट सापटी लिएर र आफूुलाई आवश्यकै नभएको वस्तु पनि खरिद गर्नुहुँदैन

यहाँ तपाइँलाई खर्च नगर्नुु भन्न खोजिएको होइन । आफूलाई मन परेको सामान दिल खोलेर खरिद गर्नुुुस् तर खर्च गर्ने बानीमा भने विशेष ध्यान दिनुस् । आवश्यक खर्चमात्रै गर्ने बानीको विकास गर्नुस् । फजुुल खर्च नियन्त्रण गर्नुस् । बचत गरेको पैसालाई कसरी बढाउने सरल र जोखिममुुक्त उपायहरुको खोजी गर्नुुस् ।

यी सूत्र पालना गरेमा तपाइँको आर्थिक अवस्था बलियो बन्न गई भविष्यमा तपाइँलाई पर्न सक्ने आर्थिक संकटबाट बच्न सहयोग पुग्नेछ । –एजेन्सी