-प्रकाश बञ्जारा 
युएई । धेरैलाई पत्यार नलाग्न सक्छ र चितवनका राजेशलाई पनि अचानक आएको फोनबाट अपरिचित व्यक्तिले डु टेलिकमको प्रतिनिधित्व गर्दै  २ मिलियन अमेरिकि डलर बराबरको भाग्यशाली चिठ्ठामा उनको मोवाइल नम्बर परेको भन्दै फोन गर्दा यस्तै भयो ।  शुरुमा त उनले पत्याउन सकेनन्, तर उताबाट पत्याउन सक्ने तरिकाबाट सम्झाइयो र पत्याउन बाध्य गराइयो । कसैलाई नभन्नुहोस्, अरुले तपाईलाई झूूठा कुरा गरेर विश्वास नगर्ने बनाउन सक्छन्, तपाई गरीब परिवारको मान्छे यति ठूलो रकमको चिठ्ठा पर्यो, तपाई साहै्र भाग्यमानी हुनुहँुदो रहेछ जस्ता कुरा गर्दा नपत्याउनु पनि कसरी ? चिठ्ठामा परेको रकम प्राप्त गर्न उताबाट भनिएको प्रक्रिया पूरा गर्नुपर्ने भनिएको थियो ।

झण्डै ८ बर्षदेखि दुवईको एक होटलमा काम गर्दै आइरहेका राजेशले उताबाट भनिए अनुसार १ हजार दिराम अर्थात २७ हजार नेपाली रुपैयाँ बराबरको डु टेलिकमकै रिचार्ज कार्डको स्क्र्याच नम्बर भनिएको मोवाइल नम्बरमा टिपाउनुपर्ने थियो । आफूूले पठार्ईएको रिचार्जकार्ड नफाक्न र रिचार्ज कार्ड सहित नजिकैको मनि एक्सचेञ्जमा चिठ्ठाको रकम प्राप्त गर्न सकिने बताएपछि राजेशले पनि त्यसै गरे । इन्टरनेटको बारेमा खासै राम्रो जानकारी नभएका उनलाई डु अनलाईन सर्भिसको एकाउन्ट बनेको खबर आफ्नै मोवाईलमा आएपछि झनै आफू भाग्यमानी भएको लाग्न थाल्यो र विश्वास बढ्दै गयो । १ हजारको रिचार्जकार्ड पठाइसकेपछि पुन ५ सय दिरामको रिचार्ज पठाउन भनियो, त्यो सबै उनको एकाउण्ट एक्टिभ गर्नका लागि आवश्यक रकम भनिएकोले राजेशले बेरै नगरी भनेबमोजिम रिचार्ज पठाउँदै गए र १८ सय दिराम अर्थात झण्डै नेपाली ५० हजार रुपैयाको रिचार्ज पठाए । भनेजतिको रकम भटाभट आउँदै गएपछि उताबाट अझै पैसा आउने आशाले डिमाण्ड बढ्दै गयो, तर राजेश भने निराश हुँदै गए । अब उनीसँग भएको पैसा सकिसकेको थियो । २० लाख अमेरिकी डलर हात पर्ने आशामा ठूूलो पैसा गयो, अरु ५ सय दिराम पठाएपछि मात्र चिठ्ठाको रकम पाउने बताइएपछि राजेश आफ्ना साथीभाईसँग पैसा सापटी माग्न पुगे । तलबको समय नभएको हुनाले हम्मेसी कसैसँग पैसा थिएन र पाएनन् पनि ।

कसैलाई नभन्न भनिएको हुनाले उनले यो कुरा साथिहरुसँग पनि सेयर गरेनन्, जब सम्म उनलाई परेको चिठ्ठा झुठो प्रमाणित भएन । अरु पैसा पठाउन नसक्ने भएपछि अहिलेसम्म पठाएको रिचार्जकाड माया मार्नुपर्ने अबस्था आयो, अनि उनी तर्किए । जुन कुराको डर थियो, त्यही भयो । आफ्नो पैसा फर्काइदिन अनुरोध गरे, तर त्यसो भएन । उल्टै उताको मोवाइल स्वीच अफ भयो र कहिल्यै खुलेन । प्रहरीसमक्ष जान केही साथीले दिएको सल्लाह पनि मानेनन् । उनलाई लाग्यो कि गल्ती मेरै हो, मैलै यति चाँडो विश्वास गर्नु हुँदैनथ्यो भनेर ।

यस्तै, काठमाण्डौमा बसोबास गर्दे आएका र दुवईमा झण्डै ९ बर्षदेखि एक सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका अर्जुन ओलीको कथा भने अलिक फरक छ । आफ्नो इमेल खोल्दा इमेलको दायाँबायाँ आउने आकर्षक विज्ञापनहरु प्रशस्त मात्रामा भेटिन्छन् । अर्जुन पनि त्यही विज्ञापनको शिकार हुन पुगे । ब्लुमबेक्स नाम दिइएको त्यो ट्रेडिङ्ग विजिनेशबाट राम्रो आम्दानी गर्न सकिने भन्दै आएको त्यो स्काममा उनको औला पुग्यो, क्लिक गर्दै गए, कम लगानीमा आकर्षक कमाई, छोटो समयमै राम्रो मुनाफा कसको चाहना हुँदैन र हप्ता दिनमै राम्रो मुनाफा हुने भएपछि अनलाईन रजिस्ट्रेसनमा आफ्नो व्यक्तिगत विवरण हाल्न भ्याए । त्यही विवरणको पर्खाइमा रहेकाहरुले उनलाई फोन गरे र आकर्षक आम्दानी हुने आश्वासन दोहोर्याए ।

यति भएपछि अर्जुृनको एटिएम कार्डको नम्बर मागियो र बैक कार्डको नम्बर पाएपछि फोन काटियो र आफ्नो खातामा भएको १४ सय दिराम पैसा पनि खाताबाट काटिएको खबर मोवाइलमा आयो, अनि अर्जुन छागाँबाट खसे । अब कहाँबाट रिटर्न आउँछ ? एक हप्ता कुरे, २ हप्ता कुरे केही भएन । इमेल पठाए, आम्दानी आउने आशा हराएपछि आफ्नो गएको पैसा फिर्ता दिन अनुरोध गरे । बारम्बारको इमेलको एउटा रिप्लाई आयो बैक स्टेटमेन्ट पठा भन्दै इन्टरनेटको बारेमा कमै जानकारी भएका अर्जुन बैक स्टेटमेन्ट लिन बैकसम्म गए । बैकबाट अनलाईन स्टेटमेन्टका लागि अनुरोध गर्न भनियो । त्यो पनि गरे । स्टेटमेन्ट पनि पठाए, तर केही सीप लागेन । पैसा पाउन सकेनन्् । ट्रेडिङ्गको नाममा गएको पैसा फिर्ता आएन । 

यस्तै टे«डिङ्ग विजनेशको सिकार हुनेमा तनहँुका विनोद जिसि पनि अर्का पात्र हुन् । बिफोरेक्स नामको टे«डिङ्गबाट आकर्षक लाभको आशामा विनोदको पनि डेढसय अमेरिकी डलर बराबरको नोक्सान भयो । 

अर्जुृन, राजेश तथा विनोद त प्रतिनिधि पात्र मात्र हुन् । विदेशमा रहेका हजारौँ नेपालीहरु केही न केहि बाहानामा यसरी ठगिने गरेका छन् । इन्टरनेटको बारेमा पर्याप्त जानकारी नहुनुका साथै कोही कसैलाई चाँडै विश्वास गरिहाल्दा थुप्रै नेपालीले अनाहकमा आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको छ । यी कुराहरुको बारेमा जानकारीमूलक कुनै पनि प्रकारका कार्यक्रमहरु सरकारी  तथा विदेशमा खुलेका सँस्थाहरुले समेत गरेको पाइन्न । तथापि दुवई प्रहरीले भने दलालको फन्दामा नपर्न र कोही कसैसँग पनि आर्थिक कारोबार नगर्न अनुरोध गर्दै आइरहेको छ । विभिन्न प्रलोभन देखाउँदै आर्थिक लाभ गर्ने १० हजार वेवसाइट बन्द गरिएको दुबई प्रहरीले बताएको छ । 

कसरी जोगिन सकिन्छ यस्तो अपराधबाट ?
सर्बप्रथम त यस्तो अपराधबाट जोगिन कोही कसैलाई पनि तुरुन्त विश्वास गर्नु हँुदैन । हामीले दैनिक जीवनमा धेरै प्रयोग गर्दै आइरहेको फेसबुक, ट्वीटर, लिङ्क्डइन जस्ता सोसल मिडियाहरुमा आफ्ना व्यक्तिगत विवरणहरु सुरक्षित राख्ने गर्नुपर्छ ।  सार्वजनिक कम्प्युटरमा इमेल तथा सोसल मिडिया प्रयोग गरिसकेपछि आफ्नो एकाउन्ट साइनआउट गर्न भुल्नु हँुदैन ।  नचिनिएका व्यक्तिबाट आएको फ्रेण्ड रिक्वेस्ट स्वीकार गर्नुहँुदैन । इन्टरनेट प्रयोग गर्दा आउने शंकास्पद लिंकहरु खोल्न हँुदैन भने अनलाइनमा पैसाको कारोबार सुरक्षित हिसाबले मात्रै गर्नुपर्छ ।  आकर्षक देखाईएका स्किम तथा अफरहरुमा चासो देखाउनु हुँदैन । नचिनेका व्यक्तिले प्रलोभन देखाई व्यक्तिगत विवरण मागेमा त्यस्ता व्यक्तिलाई ब्लक गर्ने  र आफूूलाई आएको म्यासेज सुरक्षित राखी तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ । यसो गरेमा साइवर क्राइमसँग तपाई हामी सजिलै बच्न सक्छौं र अरुलाई समेत बचाउन सक्छौ ।