काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक तथा एनक्लाउड प्रा.लि.बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी तथा एनक्लाउड प्रा.लि का  प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रनारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यबसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाखदेखि महानगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागू गर्न गइरहेको इ–टिकेटिङ सिस्टमका लागि आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ । 

साथै ओम बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने पनि उल्लेख गरिएको छ ।

यसअघि एनक्लाउड प्रा.लि र पोखरा महानगरपालिकाबीच यसै परियोजनाका लागि महानगरपालिकाभित्र सञ्चालनमा रहेका यातायात व्यबसायी समितिहरुको प्रतिनिधिको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । एनक्लाउड प्रा.लि.ले काठमाण्डौ उपत्यकामा चल्ने साझा यातायातका सवारी साधनमा जडान गरी सफलतापूर्वक सञ्चालन गरिरहेको छ ।