काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले आइतबार पोखरा उपमहानगरपालिका वार्ड नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको MSAG एक्सचेञ्जको उद्घाटन गरेका छन् । 

उनले पु्म्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्ले गरी सो सेवाको औपचारिक उद्घाटन गरे । 

सो अवसरमा उनले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकममार्फत सरकारले सहयोग गर्ने वचन दिए । नेपाल टेलिकमसँग बलियो पूर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने उनले बताए । 

सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिदै नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेकोमा प्रशंसा गरे । उनले पोखरा नगरलाई वाइफाइ फ्रि क्षेत्रको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायीत्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा रु. पचास बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिइन् । 

सो अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको जानकारी दिए । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा प्mयाक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी दिए । 

टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले कुनै बेला धनीमानीले मात्र उपभोग गर्ने टेलिफोन सेवा हाल आधारभूत आवश्यकताको वस्तुका रुपमा परिणत भएको र यस सेवालाई जनता समक्ष पुर्याउने कार्यमा नेपाल टेलिकमले भूमिका निर्वाह गरिरहेको बताए । उनले स्थानीय उपभोक्ताहरुले उपलब्ध टेलिफोन सेवाप्राप्त गरेर लाभ लिन समेत आग्रह गर्दै एक्सचेञ्ज स्थापनाका लागि सहयोग गरेकोमा स्थानीय समाज सुधार आमा समूहलाई धन्यवाद दिए ।