काठमाण्डौ । नेपाली कांग्रेस(वीपी)का केही वरिष्ठ नेताहरुले सोमबार पूर्व राजा ज्ञानेन्द्र शाहलाई गोप्य भेटघाट गरेका छन् ।

कांग्रेस वीपीका महामन्त्री सुशीलमान शेरचन नेतृत्वको समूहले पोखराको एक रिसोर्टमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग ४५ मिनेट लामो भेटघाट र छलफल गरेको हो।

सो क्रममा कांग्रेस(वीपी)का नेताहरुले पूर्व राजा शाहसँग हिन्दू राज्यसहितको राजसंस्था पुनस्र्थापनाको बिषयमा गोप्य कुराकानी गरेका बुझिएको छ । 

उनीहरुले कम्युनिष्टहरुले सर्वसाधारण नागरिकको रुपमा राजाको सक्रियता नपचाइरहेका उल्लेख गर्दै शाहले आफ्नो सक्रियतालाई अझ बढाउनुपर्ने सुझाव दिएका थिए । ‘हामीले पूर्वराजालाई नागरिकको हैसियतमा देशभरका नागरिकहरुको भावना बुझ्नका लागि समेत अझै सक्रिय भएर अगाडि बढ्न भनेका छौ ।’ भेटमा सहभागी एक नेताले बिजशालासँग भने–‘उहाँले समेत सर्वसाधारण नागरिकको रुपमा हिँडडूल गर्न र आफ्ना शुभेच्छुक भेट्न पाउने आफ्नो संवैधानिक हकको प्रयोग गरी सक्रियता जनाइराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ 

भेटघाटको क्रममा हिन्दू राज्य गुमेकोमा पूर्व राजा शाह चिन्तित देखिएका थिए । उनले आफूसँग त्यसबेलाका दलका नेताहरुले निकै धेरै सम्झौता गरे पनि पछिबाट धोका दिई कार्यान्वयन नगरेका आरोप समेत सो क्रममा लगाएका थिए । ‘धेरै कुरा गिरिजाबाबुसँग भएको थियो, उहाँ पनि नरहेपछि धेरै कुरा बिग्रियो ।’ पूर्व राजाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘म पनि भरपर्दो प्रजातान्त्रिक शक्तिको खोजीमा थिएँ, तपाईहरु अगाडि आउनुभएको छ, आगामी दिनमा यस्ता भेटघाट र सहकार्य निरन्तर रहनेछ ।’ 

सो क्रममा पूर्व राजा शाहले दलका कतिपय नेता आफूसँग भएको सम्झौताप्रति इमानदार हुन खोज्दा खोज्दै पनि बाहिरी हस्तक्षेप बढी भएको बताएका थिए । कांग्रेसमै पनि गिरिजाबाबुलाई घुमाउने धेरै मानिस सक्रिय भएका कारण आफूसँग भएका कतिपय सम्झौता छायाँमा पारिएको शाहको दाबी थियो । तर, गिरिजाबाबुसँग के के कुरा वा सम्झौता भएको थियो भन्ने बिषयमा भने उनले केही खुलाएनन् । 

उनले यसअघि आफूले विश्वास गरेको प्रजातान्त्रिक धारको पार्टीले धोका दिएको गुनासो समेत सो क्रममा गरेका थिए । 

सो क्रममा वीपी कांग्रेसका नेताहरुले राष्टियता खतरामा परेको उल्लेख गर्दै यस्तो बेलामा पूर्व राजाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेसले हिन्दू राज्यका लागि समेत नकारात्मक भूमिका खेल्दा यो अवस्था आएको उल्लेख गर्दै वीपी कांग्रेसका नेताहरुले हिन्दू राज्य पुनस्र्थापनाको बिषयमा छलफल केन्द्रीत गरेका स्रोतको दाबी छ ।

 पूर्व राजासँग भेट गर्न वीपी कांग्रेसका महामन्त्रीद्वय सुशीलमान शेरचन, पुष्पराज पराजुली, प्रवक्ता देवेन्द्र पौडेल र कास्की वीपी कांग्रेसका सभापति जंगबहादुर रानाभाट पोखराको रिसोर्ट होटलमा पुगेका थिए ।