काठमाण्डौ । आगामी भदौ १६–२५ गतेसम्म हुने साराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना हुने भएको छ । महोत्सव मूूल आयोजक समितिले भदौ १४ गते पोखरादेखि साराङ्गकोटसम्म करिब दश किलोमिटर क्षेत्रमा मिनी म्याराथुन आयोजना गर्ने भएको हो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरिएको साराङ्गकोट पर्यटन महत्सवको प्रचारप्रसारका लागि महोत्सवको पूर्वसन्ध्यामा मिनी म्याराथुन आयोजना गरिएको प्रतियोगिता संयोजक हरिबहादुर ढकालले जानकारी दिए । 

मिनी म्याराथुन पोखराको बागलुङ्ग बसपार्कदेखि सराङ्गकोट टपसम्म करिब दश किलोमिटरको हुनेछ । पर्यटक दौडको रुपमा संचालन गरिने मिनी म्याराथुन विहान ७ बजे आरम्भ हुनेछ । मिनी म्याराथुनमा स्वदेशी तथा विदेशी धावकहरुले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई दश हजार, दोश्रोलाई सात हजार र तृतीयलाई पाँच हजार नगद पुरस्कार राखिएको छ भने सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एकहजार दरले नगद पुरस्कार प्रदान गरिने टोल विकास समन्वय समितिका संयोजक सुशील जीसीले बताए । 

सराङ्गकोट टोल विकास संस्थाको मुख्य आयोजना तथा सराङ्कोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङ्कोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव हुन लागेको हो । मिनी म्याराथुनमा कास्की जिल्ला खेलकुद विकास समिति र जिल्ला एथ्लेटिक्स संघ कास्कीको सहयोग रहनेछ । 

मौलिक कला, संस्कृति र सराङ्कोटको पहिचानलाई संसार भर फैलाउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । साराङ्ककोटबाट पोखराको बजारलगायत अन्नपूर्ण, धौलागिरी र माछापुछ्रे लगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।