मुस्ताङ। पोखरा–बेनी–जोमसोम सडकमा सिधा जिप सेवा सुरु भएको छ । साढे नौ करोड रुपैयाँको लगानीमा स्थापित मुक्तिनाथ दर्शन यातायात प्रालिले बुधबारदेखि जोमसोमदेखि पोखरासम्म सिधा जिपसेवा सुरु गरेको हो।
 
जिप सेवाको पूर्वसांसद चन्द्रबहादुर गुरुङ र सिप्रदी ट्रेडर्सका महाप्रबन्धक प्रवीण खतिवडाले उद्घाटन गरेका छन्। पहिलो दिन जोमसोमबाट पोखराका लागि दुई र पोखराबाट जोमसोमका लागि पाँचवटा टाटा सुमो जिप छुटेका थिए ।
 
यात्रुको चाप र मागसँगै स्तरीय सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको मुक्तिनाथ दर्शन यातायात प्रालिका अध्यक्ष महेन्द्र थकालीले बताए। २७ वटा जिपबाट सेवा सुरु गरेको कम्पनीले जिप सङ्ख्या ४० वटा पुर्याउने जनाएको छ ।
 
एउटा जिपमा चालकसहित नौजनाको क्षमता रहेको छ । पोखरादेखि जोमसोमसम्म प्रतिव्यक्ति एक हजार ६ सय ९० भाडादर तोकिएको अध्यक्ष थकालीले बताए। पोखरा—बेनी —जोमसोम सडकमा सिधा जिप सञ्चालन भएपछि मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । छिटो गन्तव्यमा पुग्न र सुविधाका लागि जिप सेवा प्रभावकारी भएको यात्रुले बताएका छन् । 
 
यसअघि म्याग्दी, मुस्ताङ र पोखराका यातायात व्यवसायीले पोखरा—जोमसोम रुटमा सिधा माइक्रोबस सेवा दिँदै आएका थिए । सिधा चल्ने बसको सङ्ख्या कम हुने र बीचबीचमा गाडी परिवर्तन गर्नुपर्ने समस्याका कारण यात्रुलाई सास्ती भएको थियो ।
 
असोज, कात्तिक र चैत, बैशाखको याममा पोखरा–बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणले गाडी नपाउने समस्या थियो । दुई वर्षअघि सम्म स्थानीय यातायात व्यवसायीको मात्र गाडी चढ्नुपर्ने बाध्यता रहेको यो सडकमा पछिल्लो समय पर्यटक, निजी र अन्य ठाउँबाट आउने सार्वजनिक सवारीसाधनको आवतजावत सहज बन्दै गएको छ ।