पोखरा। नेपालकै पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै होटेल तथा रेष्टुराँलाई भ्याइनभ्याई छ ।

विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा जाने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए।

“पछिल्लो समयमा पोखरामा उत्साहजनक रुपमा स्वदेशी पर्यटकको वृद्धि भएको छ”, उनले भने -“भूकम्प र नाकाबन्दीले सुस्ताएको  पर्यटनलाई बढ्दो आन्तरिक पर्यटक आगमनले विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख बनाएको छ ।”

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने भन्ने कुरा ब्रान्डिङ जस्तै बनेको बताउँदै उनले याे सिजनमा  पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक जाने गरेको जानकारी दिए।

विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने गर्छन् । नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने गरेका छन् ।

विगत एक साताअघिदेखि बुकिङ गर्ने क्रम सुरु भएको जानकारी दिँदै अध्यक्ष थापाले डिसेम्बर ३१ र जनवरी १ कालागि अधिकांश होटेलमा बुकिङ सकिसकेको बताए।

विगत १८ वर्षयता निरन्तर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको सडक महोत्सवले पनि पर्यटकलाई भरपुर मनोरञ्जन दिने गर्छ ।

नयाँ वर्षको अवसरमा पोखराको सुन्दरताको अवलोकनका साथै महोत्सव पनि अवलोकन गर्न पाइने भएकाले पर्यटकहरू महोत्सवलाई समेत लक्षित गरी जाने गरेको १८औँ पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई बताउँछन् ।

“घुम्नकालागि अनुकूल समय, जारी महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रुपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको छ”, उनले भने । पुस १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा लगभग पाँच लाखको सङ्ख्यामा पर्यटक पुग्ने अनुमान गरिएकाे छ ।

मौसमको अनुकूलताका कारण यतिखेर पोखरा आसपासका माछापुच्छ्रे, अन्नपूर्ण, तथा धवलागिरिलगायतका हिमशृङ्खलाले पर्यटकलाई खुलेर स्वागत गरेका छन् । हिमाली दृश्यको अवलोकनका साथै पोखरा आउने पर्यटक यहाँको फेवातालमा बोटिङको मज्जा लिँदै तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जान्छन् ।

पोखराको अर्को आकर्षण डेभिड फल्सबाट खसेको पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ भने नजिकै रहेको गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा पर्यटक रमाउने गरेका छन् ।

फेवातालको शिरमा रानीवनमाथि देखिने विश्व शान्ति स्तूप पनि यहाँको अर्को पर्यटकीय गन्तव्य हो । फेवाताल, हिमाल, सराङ्कोटलगायतका स्थानको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।पोखराको विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, लेखनाथ नगरपालिकास्थित बेगनास, रुपालगायतका सात ताल, महेन्द्र गुफा, चमेरो गुफा, सेती नदीको गल्छी, माटेपानी गुम्बा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय आदि पर्यटकका रोजाइमा पर्ने गरेका छन् ।

साहसिक पर्यटनका प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बञ्जीजम्प, जिप फ्लाई आदिले पनि पोखरामा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पहारी अङ्ग्रेजी नयाँ वर्षका कारण केही दिनयता पोखराका होटेलमा पर्यटक आउने क्रम तीव्र रुपमा बढेको बताउँछन् ।

“पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटेलका लगभग नौ हजार कोठामा २० हजार बेड सङ्ख्या रहेको छ”, उनले भने – “पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका हेटेलमा समेत प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्न सक्दछ ।”

नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटेलले आफ्नो सेवा प्रभावकारी बनाएको होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताए ।

“एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्”, पन्थीले भने – “डिसेम्बर ३० देखि जनवरी १ सम्म धेरै बुकिङ भइसकेको छ। उनका अनुसार होटेलमा विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकको सङ्ख्या बढी छ ।

पाेखरामा सानाठूला गरी  ४ सय  ५० हाेटलले पर्यटकलाई सेवा दिइरहेका छन् ।