काठमाण्डौ । पोखरा फाइनान्सले निश्कासन गरेको एफपीओको बाँडफाँड बिहीबार(भदौ २९ गते) हुने भएको छ । 

पोखरा फाइनान्सको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलका अनुसार बिहीबार बिहान १०ः३० बजेबाट पोखरा फाइनान्सको एफपीओको बाँडफाँडको नतिजा सार्वजनिक गरिनेछ । 

धराप कम्पनीको रुपमा रहेको पोखरा फाइनान्सले साउन २९ देखि भदौ १ गतेसम्म प्रतिकित्ता २२० रुपैयाँ दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको थियो । यो कम्पनीको अवस्था निकै खराब रहे पनि देशभरबाट ४९ हजार आवेदनबाट ७२ करोड ६० लाखको प्रस्ताव परेको थियो । लगानीकर्तालाई न्यूनतम १० देखि अधिकतम ४९०० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । 

एफपीओको बाँडफाँडपछि प्रति कित्ता अंकित दरबाट संकलन हुने रकम चुक्तापुँजीमा गएर जोडिने हुँदा पोखरा फाइनान्सको चुक्तापूँजी ६५ करोड ५७ लाखको उचाईमा पुुग्नेछ । यस्तै, संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतमा रुपान्तरण हुनेछ । प्रतिकित्ता १२० रुपैयाँ दरले प्रिमियमबाट आउने रकम जोडिएर कम्पनीको रिजर्ब कोष ११ करोड ८० लाखको उचाईमा पुुग्नेछ ।