पोखरा । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् ।

४ नम्बर प्रदेश स्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औद्योगिक उत्पादनमा सहकार्य गर्न नेपालको निजी क्षेत्र तयार रहेको बताए । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोही संबिधानबमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको निजी क्षेत्रले पनि गरेको बताए ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

आइएमई ग्रुप एक व्यवसायिक संस्था हो । यसले रेमिटेन्स, बैंकिङ, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी बिस्तार गर्दै आइरहेको छ ।