काठमाण्डौ । निकै कमजोर बन्दै  गएको पोखरा फाइनान्सले दोश्रो त्रैमासमा समेत खराब नतिजा निकालेको छ । यो कम्पनीका अधिकांश मुख्य सूचकहरुमा पहिरो गएको देखिएको छ ।

खूद नाफा, खूद ब्याज आम्दानी, संचालन नाफा, प्रतिसेयर आम्दानी लगायतका मुख्य सूचकमा पहिरो गएको हो ।

४ करोड ८३ लाख रुपैयाँ रहेको नाफा घटेर ४ करोड ३ लाखमा सीमित बन्न पुगेको छ भने ९ करोड २९ लाख रहेको खूद ब्याज आम्दानी घटेर ७ करोड ४० लाखमा सीमित भएको छ । यस्तै, ७ करोड ५९ लाख रुपैयाँ रहेको संचालन नाफा घटेर ६ करोड २० लाखमा झरेको छ भने १७.३३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर १२.३० रुपैयाँमा सीमित भएको छ । 

समीक्षा अवधिमा यो फाइनान्सले ३ अर्ब ९४ करोड निक्षेप संकलन गरी ३ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब २५ करोड निक्षेप संकलन गरी ३ अर्ब २ करोड कर्जा प्रवाह गरेको थियो ।

यो फाइनान्सले रिजर्ब कोषमा भने शानदार बढोत्तरी हासिल गरेको छ । अघिल्लो वर्ष १७ करोड ६२ लाख रहेको कोषको आकार बढी ४१ करोड ७३ लाख पुगेको हो ।

कम्पनीले खराब  कर्जालाई पनि घटाएको छ। अघिल्लो वर्ष १.५२ प्रतिशत रहेको यस्तो कर्जा घटेर १.३२ प्रतिशतमा झरेको हो । यो अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ १५९.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.३९ गुणा कायम भएको छ ।